काठमाडौँ, १२ असोज : आश्विन शुक्ल षष्ठीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजाआराधना गर्ने गरिए पनि यस वर्ष चौथी तिथि वृद्धि भई दुई दिन परेकाले सातौँ दिनमा पूजा गरिएको हो ।
कात्यायनी देवीको उत्पत्तिका सम्बन्धमा रहेको यस्तो किंवदन्तीअनुसार कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । कात्यायनीको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गर्छन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पुराणमा उल्लेख छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूलवाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी हुन्छन् । तिनै देवीको आज विधिपूर्वक पूजाआराधना गरिएको हो ।
नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । पाँचौँ दिन पनि चौथी वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजाआराधना गरिएको हो । छैटौँ दिन शनिबार स्कन्दमाताको पूजाआराधना गरिएको थियो ।
सातौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
रासस