मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

  ३ घण्टा अगाडि

काठमाडौँ, १० असोज : अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बताउनुभयो ।

बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएकामा धन्यवाद दिनुभयो । उहाँले वर्तमान सरकारका तत्कालका प्राथमिकता प्रकाश पार्नुभयो ।

“नेपालमा हालै गठित अन्तरिम सरकारद्वारा युवाहरुको चाहना अनुरूप पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ,” उहाँले भन्नुभयो, “आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने छ ।”

कार्यक्रममा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रमका प्रतिनिधिलगायतले आफ्नो भनाइ राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाएका थिए ।

विकास साझेदारले चालू अवस्थाका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् । मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बैठकमा राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
रासस

तपाईको प्रतिक्रिया