पहिरोमा परी दुई बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

  ८ घण्टा अगाडि

सिन्धुपाल्चोक, ८ असोज : जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

आज दिउँसो करिब ४ः४५ बजे सडकमाथिबाट लेदो सहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया