धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

  ९ घण्टा अगाडि

म्याग्दी, ८ असोज : धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत चार सय ४० घरपरिवार लाभान्वित भएका छन् ।

धवलागिरि गाउँपालिका–७ को मच्छिम, शिवाङ र हिलापोखरीमा तीन सय २३ तथा वडा नं ६ मा पर्ने राम्चे, मराङबेँसी र कुम्रीका एक सय १७ घरमा खानेपानी सुविधा विस्तार भएको हो ।

गाउँपालिकाका प्रावधिक शाखाका प्रमुख लोकेन्द्र रावलले ठेक्कामार्फत निर्माण भएका दुईवटै योजनामा रु दुई करोड ३२ लाख पाँच हजार ८४ खर्च भएको बताउनुभयो । आयोजना प्रभावित दुईवटा वडाका छवटा टोलका सबै घरमा खानेपानी वितरणका लागि मिटरसहितको धारा निर्माण भएको छ । मुहान, ट्याङ्की, मुख्य र शाखा पाइप लाइन निर्माण गरेर घरघरमा सफा र स्वच्छ खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ ।

घरघरमा खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई समयको बचत र पानी ओसार्न हुने झन्झट हटेको धवलागिरि गाउँपालिका–६ का लाल केसीले बताउनुभयो । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए ।

मच्छिम, शिवाङ, हिलापोखरी खानेपानी योजनामार्फत मच्छिमको शिरमा रहेको बञ्चरेमा मुहानबाट पानी ल्याएर वितरण भएको छ । यो योजनाका लागि रु एक करोड ३६ लाख ३४ हजार ३११ खर्च भएको छ ।

रु एक करोड १३ लाख ४९ हजारमा आर्थिक वर्ष २०७८/७९ मा ठेक्का सम्झौता र यस वर्ष सकिएको मराङको खानेपानी योजनामा रु एक करोड सात लाख ५२ हजार २१२ भुक्तानी भएको छ । मराङ खानेपानी योजनाबाट खानेपानी वितरण भइसकेको छ ।

मच्छिम, शिवाङ, हिलापोखरी खानेपानी योजनाको संरक्षणको परीक्षण सफल भए पनि प्रयोगमा आएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले उपभोक्ता समिति गठन गरेर योजना हस्तान्तरण र बर्खा सकिएपछि सञ्चालन गरिने बताउनुभयो ।
रासस

तपाईको प्रतिक्रिया