काठमाडौँ, ७ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिनुभएको छ ।
केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हाल्नुभएका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीलगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिनुभएको हो ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार उहाँले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन वृद्धि गरी विद्यालयस्तरदेखि कम्प्युटर शिक्षालाई महत्त्व दिन निर्देशन दिनुभयो ।
मन्त्री पुनले पद बहालीका क्रममा विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चारवटा सल्लाहकार समिति गठनको कार्यादेश समावेश गरिएको प्रस्तावलाई स्वीकृत गर्नुभएको थियो ।
यसैबीच, मन्त्री पुनको इच्छाबमोजिम उहाँलाई मन्त्रालयमै आवासको प्रबन्ध गर्न मन्त्रालय प्रशासनले आवश्यक तयारी गरेको छ । मन्त्री पुनले आफू जहाँ काम गर्यो, त्यहीँ बस्दै आएकाले सुत्ने खाट र भान्छा कोठाको व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।
रासस