कञ्चनपुर, १ असोज : जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेपछि शुक्लाफाँटा नगरपालिकामा कार्यसञ्चालन हुन सकेको छैन । प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै १२ वटै वडा कार्यालयमा तोडफोड गरी सामग्रीमा आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो ।
तोडफोड गरिएका, आगजनी गरी जलाइएका संरचना तथा सामग्रीको क्षतिको मुचुल्का तयार गर्न, मूल्याङ्कन गर्न, सरसफाइ गर्न समय लाग्ने भएकाले कार्यालय सञ्चालन हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनकारीले वडा नं १, ४ र ७ भवनमा आगो लगाएर नोक्सानी गरेका छन् भने कार्यालयभित्रका महत्त्वपूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, पङ्खा, एसी, प्रिन्टरलगायत सामग्री जलाएका छन् ।
सेवाग्राहीले बुझाएको राजश्वबापतको रकम, ल्यापटपसहित हात्ती प्रभावित क्षेत्रमा वितरणका लागि राखिएका टर्चलगायत सामग्री लुटेर लगेका वडाका कर्मचारीको भनाइ छ । नगरपालिकामा हालसम्म वडा नं १० ले वैकल्पिक व्यवस्थासहित स्वास्थ्य कार्यालयको बरण्डाबाट आंशिक रूपमा सेवा दिन सुरु गरेको छ । नगरको नियमित कार्यसञ्चालनमा ल्याउनका लागि एकसाता लाग्ने अधिकृत विष्टले बताउनुभयो ।
यसैगरी, कृष्णपुर नगरपालिले क्यान्टिनबाट सेवा सञ्चालनको तयारी गरेको छ । पुर्नवास नगरपालिकामा पनि आगजनी र तोडफोडबाट क्षति पुगेकाले कार्यालय सञ्चालन हुन सकेको छैन ।
रासस