काठमाडौँ, ३० भदौ ; राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलल आज जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायत कार्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ ।
“देश, जनता, लोकतन्त्र, मानवअधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकार भएकाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउनु जरुरी छ”, विज्ञप्तिमा भनिएको छ, “अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्नुपर्छ ।”
आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न, द्वन्द्व र हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन र आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रियाअनुरूप शिष्टतापूर्वक राख्न आयोगले आग्रह गरेको छ ।
विकसित परिस्थितिमा आमनागरिकको मानवअधिकारको उपभोगमा आइपर्ने अवरोध पहिचान गरी त्यस्ता अवरोध हटाउन प्रभावकारी कार्य गर्नुपर्ने र सङ्कटको अवस्थामा हुनसक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्न आयोगको आग्रह छ । दैनिक उपभोग्य सामग्री र सेवालाई सहज रूपले सञ्चालन गर्ने आवतजावतलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ ।
“प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षति विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिनुपर्छ”, विज्ञप्तिमा भनिएको छ, “सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्नुपर्छ ।”
(रासस)