भैरहवा (रुपन्देही), ३० भदौ : भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।
विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल र बैंकरोड क्षेत्रमा पानी जमेको छ । सडकहरू पानी भरिँदा पैदल यात्रु र सवारीसाधन दुवैलाई समस्या भएको छ । स्थानीय बासिन्दाका घर र पसलमा पनि पानी पसेको छ ।
सहरको महत्त्वपूर्ण मानिने भीम अस्पताल परिसर पनि डुबानमा परेको छ । यसले गर्दा बिरामी र उनीहरूका आफन्तलाई अस्पतालसम्म पुग्न र त्यहाँभित्र आवतजावत गर्न असहज भएको छ । यसैगरी हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा समेत पानी जमेको छ । जसले गर्दा यात्रुहरूलाई केही असुविधा भएको छ ।
भारी वर्षाका कारण सडक यातायात पनि प्रभावित भएको छ । भैरहवामा रहेका कुलोहरू नयाँ बनाउने नाममा साँघुरो पारेको, समयमा त्यसको सरसफाइ नगरेका कारण यस्तो समस्या वर्षेनि आउने गरेको डुबान पिडित स्थानीय अजय गुप्ताको भनाइ छ ।
(रासस)