यातायात व्यवस्थापन तथा सहजीकरण सुरु

  भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्व लक्षित यातायात व्यवस्थापन सहजीकरण गर्न छलफल चलाएको छ । आज चाडपर्वका लागि उपत्यकाबाट बाहिरिने यात्रुका लागि थप सहजीकरण गर्नेबारे छलफल भएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।

वर्तमान परिस्थिति यात्रा सुरक्षित र सहज बनाउन तथा प्राप्त गुनासाको तत्काल सम्बोधन गरी सहजीकरण गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ । त्यसमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षलगायत सरोकार भएकाहरूसहित उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको हो ।

महानिर्देशक पोखरेलले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्न सक्नेगरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायीलगायत सरोकार भएकाहरूसँग छलफल भएको जानकारी दिनुभयो ।

यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन एवं कार्यालयहरूको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । महानिर्देशक पोखरेलले भन्नुभयो, “ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामग्रीहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्लगायतबाट उपलब्ध गराउने निर्णय भएको छ ।”

उहाँका अनुसार आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायत सामग्रीहरू सवारीसाधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको छ । चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच एवं आवश्यकताअनुसार यात्रु सहायता कक्षहरू निर्माण गर्न नाडालगायत संस्थाहरूलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले यात्रुलाई सहजीकरण गर्न महासङ्घले तयारी थालेको जानकारी दिनुभयो । उहाँले गत सोमबार जेनजी युवाहरूको प्रदर्शनका क्रममा यातायात अवरुद्ध भएको र रोकिएका यात्रुहरूलाई सोमबारदेखि नै यात्राका लागि सहज गरिने बताउनुभयो ।
(रासस)

तपाईको प्रतिक्रिया