मुस्ताङ, २९ भदौ : आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर् याएको यहाँ आइपुगेका व्यापारीहरुले बताएका छन् ।
यसवर्ष जुम्लाबाट करिब पाँच हजार भेडच्याङ्ग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ । दसैँ नजिकिँदै गर्दा आजसम्म डोल्पाबाट पाँच÷छ हुल र जुम्लाबाट तीन हुलजति भेडाच्याङ्ग्रा जोमसोममा देखापरेका छन् । यहाँ आइपुगेका व्यापारीले अरु व्यापारीले पनि एक दुई दिनभित्रै सबै भेडाच्याङ्ग्रा जोमसोम ल्याउने जनाएका छन् ।
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा जोमसोम आइपुग्दा बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका व्यापारीले भेडाच्याङ्ग्रा जोमसोम ल्याएका छैनन् । यस वर्ष मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिर बिक्री हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालयको प्रक्षेपण छ ।
डोल्पास्थित काइके गाउँपालिकाका स्थानीय च्याङ्ग्रा व्यापारी भीमप्रसाद घर्तीले १७० भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएको बताउनुभयो । उहाँले डोल्पा र चाइनाको सिमानाका मोरिम्ला नाकामा पुगेर किसानको गोठमै खरिद गरी बिक्रीका लागि भेडाच्याङ्ग्रा मुस्ताङ ल्याएको उल्लेख गर्नुभयो ।
व्यापारी घर्तीले यसवर्ष चाइनाबाट तीन हजार र डोल्पाबाट एक हजार गरी अनुमानित चार हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ आउने क्रममा रहेको जानकारी दिनुभयो । विगत दुई दशकदेखि निरन्तर बर्सेनि च्याङ्ग्राको व्यापार गर्दै आइरहेका घर्ती यसवर्ष भेडाच्याङ्ग्रा बिक्री नहुने हो की भनी चिन्ता बढेको उल्लेख गर्नुभयो । “बेंसीतिर आन्दोलन र अशान्ति छ रे भन्ने सुनेको छु, त्यसो भएत व्यापारी पनि यहाँ आउँदैनन् होला, तल लैजाँदै बिक्री नहुने पो हो कि थाहा छैन”, उहाँले भन्नुभयो ।
अहिलेसम्म च्याङ्ग्राको व्यापार गर्दा सन्तुष्ट रहेको भए पनि यसवर्ष च्याङ्ग्राको व्यापारमा डर लागिरहेको घर्तीले जनाउनुभयो । चाइनाबाट खरिद गरी डोल्पामा राखेर त्यहाँबाट पैदल खेदाएर एक हप्तापछि जोमसोम आइपुगेको उहाँले बताउनुभयो ।
यसैगरी, जुम्लाका च्याङ्ग्रा व्यापारी गोविन्द बस्नेतले १५० च्याङ्ग्रा बिक्रीका जोमसोम ल्याएको जानकारी दिनुभयो । डोल्पाबाट हुलका हुल च्याङ्ग्रा मुस्ताङ ल्याइँदै गरेको र जुम्लाबाट पनि ६०० बढी भेडाच्याङ्ग्रा बिक्रीका लागि मुस्ताङ भित्रिसकेको उल्लेख गर्नुभयो । यस वर्ष जुम्लाबाट हुल च्याङ्ग्रा जोमसोममा आइपुगेको उहाँले सुनाउनुभयो ।
“आधाजसो च्याङ्ग्रा आफँैले पालेका छन्, आधाजसो च्याङ्ग्रा किनेर थपेको हुँ”, व्यापारी बस्नेतले भन्नुभयो, “यहाँ ल्याउँदा दुई हप्ता लाग्यो, खर्च पनि रु ५०÷६० हजार भइसक्यो ।” व्यापारी बस्नेतले च्याङ्ग्राको भाउ पाए यही जोमसोममै बिक्री गर्ने र नभए पोखरा लगेर बिक्री गर्ने योजना रहेको बताउनुभयो ।
जोमसोममा यतिखेर पाँच÷सात हुल भेडाच्याङ्ग्रा झारिएको छ । यहाँ व्यापारीले रोज्जा प्रतिच्याङ्ग्राको भाउ रु ३५ हजार र रोज्जा प्रतिभेडाको भाउ रु ३० हजार मूल्यमा बिक्री गर्ने बताइरहेका छन् ।
जोमसोममा डोल्पा र जुम्लाबाट छिटफुट भेडाच्याङ्ग्रा झर्दै गर्दा बेंसीका भेडाच्याङ्ग्रा व्यापारीको रौनक जोमसोममा खासै देखिएको छैन । देशको पछिल्लो विद्यमान परिस्थितिका कारण च्याङ्ग्रा व्यापारी मुस्ताङ आउन ढिलो हुन पुगेको स्थानीयको बुझाइ छ । दसैँलक्षित भेडाच्याङ्ग्रा खरिद गर्न विगतका वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँलगायत व्यापारी मुस्ताङ आउने गर्थे ।
(रासस)