फरार कैदीबन्दीलाई सम्पर्कमा आउन नक्खु कारागारको अपिल

  ४ घण्टा अगाडि

ललितपुर, २७ भदौ : नक्खु कारागार प्रशासनले यही भदौ २४ गते कारागार परिसरबाट फरार भएका सम्पूर्ण कैदीबन्दीलाई तुरुन्त सम्पर्कमा आउन अपिल गरेको छ । फरार कैदीबन्दीलाई अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न अपिल गरिएको छ ।

कारागार प्रशासनले आज जारी गरेको सार्वजनिक अपिलमा फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी दिँदै भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा प्रतिकूल असर पर्न सक्ने उल्लेख गरेको छ ।

“विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पु¥याउन सम्पूर्ण फरार कैदीबन्दीलाई यसै सूचनामार्फत औपचारिक रूपमा अपिल गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रशासनले सम्पर्कमा आउने कैदीबन्दीको हकहितको रक्षा गर्दै कानुनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यसैबीच, सम्पर्क हुन नआएका कैदीबन्दीमाथि कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने जनाइएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया