भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

  १७ घण्टा अगाडि

महोत्तरी, २६ भदौ : गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी-थुनुवा फर्कन थालेका छन् ।

महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी÷थुनुवालाई फर्कन अपिल गरेसँगै बुधबार राति तीन जना फर्केका कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि गर्नुभयो ।

“बुधबार राति तीन जना कारागार आइपुगेका छन्”, ठाकुरले भन्नुभयो, “अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन् ।” भागेकामध्ये अधिकांश कैदी÷थुनुवा फर्कने ठाकुरलाई विश्वास बढेको छ । आपूmले बुधबार कार्यालयबाटै भागेका कैदी÷थुनुवालाई फर्कन गरेको अपिलको सकारात्मक प्रभाव परेको उहाँको ठम्याइ छ ।

“हामीले कैदी÷थुनुवालाई तपाईंहरु फर्कनोस्, कुनै सर्त र थप कार्वाही हुँदैन भनेर अपिल ग¥यौँँ”, ठाकुर भन्नुहुन्छ, “त्यो अपिल सुने÷पढेपछि उहाँहरुको मन फिरेको छ, तीन जना आइपुग्नुभयो, अन्य केहीले आउँदैछौँ भन्नुभएको छ ।” कारागार कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै भागेका कैदी÷थुनुवालाई भागेबापत कुनै सजाय नगरिने जनाउँदै २४ घण्टाभित्र आइपुग्न अपिल गरेको थियो । सो अपिलमै स्वेच्छाले नफर्कनेको हकमा खोजी गरेर भेट्टाइँदा थप सजाय गरिने उल्लेख गरिएको थियो ।

यसैगरी, मङ्गलबार साँझ जेनजी आन्दोलनको आडमा कारागार भत्काएर भागेका ५७६ जनामध्ये भारतिर पस्ने क्रममा १० जना भारतीय पुलिसको नियन्त्रण रहेका खबर फैलिएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाइने कारागार प्रमुख ठाकुरको भनाइ छ ।

तपाईको प्रतिक्रिया