काठमाडौँ, २५ भदौ : नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ ।
भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको राससमा उल्लेख छ ।
यसैगरी, हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न ईलाकाहरु (राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका छन् ।
सेनाले जारी गरेको सुरक्षा अपडेटमा समुदायलाई चारवटा महत्वपूर्ण सन्देशसमेत दिएको छ :
१. सुरक्षासम्बन्धी जानकारी दिन आग्रह
देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल नेपाली सेनाको मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सयाप वा भाइबरमा एसएमएस पठाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ ।
२. सामुदायिक एकता र निगरानी
सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्न सेनाले आह्वान गरेको छ ।
३. भ्रामक समाचारप्रति सतर्कता
केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना संप्रेषण गर्न सेनाले आग्रह गरेको छ ।
४. सुरक्षामा निरन्तर खटिएका निकाय
नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु शान्ति सुरक्षा र अमनचयन कायम गर्न चौबीसै घण्टा खटिइरहेको जनाइएको छ ।
नेपाली सेनाले यस्ता चुनौतीपूर्ण परिस्थितिमा नागरिक सचेतना र सहकार्य अत्यन्त जरुरी रहेको भन्दै, सामुदायिक एकता र सही सूचना प्रवाहले सुरक्षालाई थप सबल बनाउने विश्वास व्यक्त गरेको छ ।