सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुन्छः महासचिव पोखरेल

  ७ घण्टा अगाडि

काठमाडौँ, २२ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताउनुभएको छ ।

ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उहाँले सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिनेसमेत बताउनुभयो ।

महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताउनुभयो । “४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने । पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ । हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताउनुभयो । “महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ । पाटी सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन”, उहाँले जवाफ दिने क्रममा भन्नुभयो ।

महासचिव पोखरेलले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसङ्ग उल्लेख गर्दै आजको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताउनुभयो ।

“पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली तडकभडक जुन बढेको छ त्यसलाई जनताले निगरानी गरिरहेका छन्”, उहाँले भन्नुभयो । उहाँले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेट्ने जानकारी दिनुभयो ।

बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझावका आधारमा आज प्रतिवेदनलाई पारित गर्ने र जवाफका क्रममा सुझाव नछुटोस् भनेर थप छलफल गरेर दस्तावेज बनाइने उहाँको भनाइ थियो ।

उहाँले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सैद्धान्तिक भएकाले थप समूह नेताबाट छलफल गरेर केही हेरफेर हुनेसक्ने र पार्टी विधानमा हेरफेर नगरिकन महाधिवेशनबाट विधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले छुटेका कुरालाई पछि समेटिने बताउनुभयो ।
(रासस)

तपाईको प्रतिक्रिया