पाटन (ललितपुर), १६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई योगदान गर्नेहरुलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्ने बताउनुभएको छ ।
सिजन मिडियाको १७ औँ वार्षिकोत्सवको अवसरमा एसियाली मुलुकका विभिन्न पेसा तथा व्यवसायमा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा आज आयोजित ‘एसियाली व्यावसायिक उपलब्धि पुरस्कार २०२५’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले यस्ता कार्यले सकारात्मक र नयाँनयाँ काम गर्नेहरुलाई ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
“देशभित्र विभिन्न क्षेत्रमा मेहनत र निष्ठाद्वारा योगदान पु¥याउनेलाई गरिएको सम्मान अत्यन्तै महत्त्वपूर्ण छ, देशलाई योगदान गर्नेहरुलाई एकै ठाउँमा राखेर सम्मान गर्दा अझै राम्रो गर्न प्रेरित गरेको छ,” उहाँले भन्नुभयो ।
प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले यो मञ्चको सिर्जना गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुले देशलाई दिएको योगदान र कडा मेहनतलाई प्रेरणा दिएको बताउनुभयो । उहाँले अन्तरराष्ट्रियस्तरको यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रतिभा, मेहनतलाई सम्मान गर्ने अवसरले सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा राम्रो काम गर्न ज्यादै कठिन रहेकाले कठिनाइका बाबजुद केही सकारात्मक काम गर्न सफल भएको बताउनुभयो । उहाँले २०७२ सालको भूकम्पले क्षति पु-याएका सबै देवालय, शिवालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो ।
सम्मानित व्यक्तित्व एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले विभिन्न क्षेत्रमा सेवा गर्नेहरुलाई सम्मान गरेर प्रोत्साहित गरेको बताउँदै अर्को वर्ष गाउँको दूरदराजमा बसेर सेवा गर्नेलाई सम्मान गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको खस्किएको अर्थतन्त्रलाई उकास्नुपर्नेमा जोड दिनुभयो ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले १७ वर्षको अवधिमा सामाजिक, सांस्कृतिक तथा व्यावसायिक क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्दै आएको बताउनुभयो । सिजन मिडियाले यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु-याएका एसियाली मुलुकका २९ जना व्यक्तित्वलाई सम्मान गरेको राससमा उल्लेख छ ।