‘दिलबहादुर कुँवर (बूढथापा)’ स्मतिग्रन्थ सार्वजनिक

  १४ घण्टा अगाडि

काठमाडौँ, १७ असारः नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुदुरश्चिम क्षेत्रका खम्बा दिलबहादुर कुँवर (बूढथापा) को योगदान र सङ्घर्षसम्बन्धी विषयबस्तु समेटिएको स्मृतिग्रन्थ ‘दिलबहादुर कुँवर (बूढथापा)’ सार्वजनिक गरिएको छ ।

प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गर्दै मुलुकको प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलन र समाज रुपान्तरणमा कुँवरको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदुरपश्चिममा कुँवरको समाजसुधारक, रुपान्तरणकारी राजनीतिज्ञ र प्रजातान्त्रिक व्यक्तित्वको परिचय छ । विसं २०१५ का सांसद उहाँ बिपी कोइरालाले अघि बढाउनुभएको आन्दोलनका सहयोद्धा हुनुहुन्थ्यो ।”

पुस्तकको समीक्षा गर्दै बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सम्पूर्ण सुदुरपश्चिम र अछाम जिल्लाले सम्मान गरेको व्यक्तित्वका रूपमा रहनुभएका बूढथापा मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुस्तकको अध्ययनबाट कुँवर समाजरुपान्तरणको अगुवा हुनुहुन्थ्यो भन्ने स्पष्ट गर्दछ । कृति सुदुरपश्चिममात्र नभइ समग्र मुलुकको लोकतान्त्रिक आन्दोलनबारे अध्ययनका लागि प्रमाणिक दस्तावेज रहेको छ, जुन यस विषयमा विद्यावारिधि गर्न चाहनेका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुनेछ ।”

कृतिका प्रकाशक तथा बूढथापाका छोरा बलबहादुर कुँवरले इतिहास भनेको गोरेटो मात्र नभइ उज्ज्वल भविष्यको सपना देखाउने महत्वपूर्ण पक्ष भएकाले नेपालको लोकतान्त्रिक इतिहाससम्बन्धी महत्वपूर्ण घटना जान्न र बुझन सहज होस् भन्ने हेतुले पुस्तक प्रकाशित गरेको बताउनुभयो । उहाँले पुस्तकमा त्यस बखतका महत्वपूर्ण घटनाको नालीबेली समेटिएको जानकारी दिँदै अछामबासी न्यायलाई शिरोपरण गर्ने र अन्यायलाई जस्तो सुकै परिस्थितिमा पनि सहन गर्न नसक्ने चरित्रकारुपमा पुस्तक अध्ययनबाट स्पष्ट हुने धारणा राख्नुभयो ।

साहित्यकार विमल भौकाजी प्रधानसम्पादक रहनुभएको तीनवटा खण्डमा विभाजित कृतिको पहिलो खण्डमा सातवटा शुभकामना र श्रद्धासुमन, खण्ड दुईमा व्यक्तिका विचारसम्बन्धी ५० आलेख तथा खण्ड तीनमा उहाँको पारिवारिक तथा समाजसेवामा पु¥याउनुभएको योदान झल्कने तस्बिर समेटिएको छ ।

कृतिमा सङघर्षका पर्याय बूढथापा कुँवर, बूढथापा : शिक्षाप्रेमी, समाज सुधारक, दिलका धनी, त्यागी र निष्ठावान, अविचलित निष्ठान व्यक्ति, बहुआयामिक व्यक्तित्व विसं २०१५ का एक कर्मठ सांसद, प्रजातन्त्रप्रति निष्ठान व्यक्तित्व, अशिक्षित र र असहायका अभिभावक कुँवरलगायतका शीर्षमा उहाँको योगदानको परिचय गराउने लेख समेटिएका छन् ।

तपाईको प्रतिक्रिया