गण्डकी, १२ भदौ : पोखराको ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुुने भएको छ । अठारौँ शताब्दीको सुरूमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप) का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराएर भक्तपुर, ललितपुर र काठमाडौँका नेवार ल्याएर पोखरामा बजार सुरुआत गरेको इतिहास छ । त्यही २६ कुरियाअन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल पर्दछन् ।
तत्कालीन समयमा ल्याइएका नेवार विशेषतः व्यापारी, शिल्पी, कालीगढ रहेको र सुरुमा करिब एक सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ । तिनै ऐतिहासिक महत्त्वका विषयलाई फोटो कथाका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यका साथ पोखरामा पहिलो पटक नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा भदौ १६ गते शनिबार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म रानीपौवा अवस्थित भगवती दलगण प्राङ्गणमा एकदिने २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले जानकारी दिनुुभयो ।
विसं १८२६ मा भक्तपुरका राजा रणजीत मल्लयुद्धमा हारेपछि ठूलो सङ्ख्यामा नेवार पोखरामा आएको र उक्त सङ्ख्या सात सय पुगेको जनाइन्छ । पोखरा आएका २६ कुरियामा बसोबास गर्ने नेवार आफ्ना मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्ने गरेको र उनीहरू पोखरामा आएसँगै यहाँको सामाजिक, आर्थिक, धार्मिक एवं सांस्कृतिक विकासले गति लिएको मान्निछ ।
पोखराका यिनै ऐतिहासिक सत्यतथ्यलाई फोटो कथाका माध्यमबाट देखाउन खोजिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुुभयो । पोखराको तत्कालीन इतिहासको कल्पना गरेर आयुुष श्रेष्ठले तयार गर्नुुुभएका २० वटा फोटोकथा प्रदर्शनीमा राखिने उल्लेख गर्दै उहाँले यसअघि काठमाडौँमा पनि प्रदर्शन गरिएको बताउनुुभयो ।