बैतडी, २९ चैत : बैतडी-बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँच जना हाम फालेर बाँच्न सफल भएका छन् ।
पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित पुग्नु भएको छ । झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको भण्डारी ट्राभल्स लेखेको जिप राति ११:०० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा (वर्ष ६०) गोरख बोहरा (३५) नरे बोहरा (४०) विर्ख धामी (४५) मानबहादुर धामी (४५) वीरे धामी (४५) को मृत्यु भएको छ । मृतक सबै बझाङका रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।
जिपको पछाडी सवार ५ जना हाम फालेर बाँच्न सफल भएको प्रहरीको भनाई छ । जिपमा चालक अर्जुन बोहरा सहित १२ जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् । झौलेक मोड काटेर खोलाको ठाडो घुम्तीको उकालोमा जिप अगाडि बढ्न नसकेर पछाडि धकेलिएको बताईएको छ । जिप पछाडि बसेका पाँच जनाले सडकमै हाम फालेर बाच्न सफल भएकाे बताएका छन् । प्रहरी घटनास्थलमा पुगेको छ ।






