यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेश र सुदूरपश्चिम फाइनलमा

  ३ घण्टा अगाडि

कर्णाली, ३१ जेठ : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा जारी प्रथम यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा मधेश र सुदूरपश्चिम प्रदेश प्रवेश गरेका छन् । उपाधिका लागि दुई प्रदेशबीच भिडन्त हुने पक्का भएको छ ।

समूह चरणको अन्तिम खेलमा मधेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनःफाइनलमा मधेशलाई नै प्रतिष्पर्धीका रुपमा पाएको हो । आज भएको समूह चरणको अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायम राखेको गण्डकीका लागि मधेशमाथि सुदूरपश्चिमले जित निकालेसँगै फाइनलमा जाने आश टरेको थियो ।

अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेश प्रतियोगिताकै पहिलो हार व्यहोर्ने क्रममा सुदूरपश्चिमविरुद्धको खेलमा पछि परेपछि उपाधि दाबेदारका रुपमा फाइनल पुगेको हो । कालुङचोक मैदानमा ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमकी ओपनर सावित्री धामी र करुणा विष्टले ८ ओभरसम्म टिकेर ६८ रनको उत्कृष्ट साझेदारी गर्दै जितका लागि बलियो जग बसालिन् ।

चौबिस रनको व्यक्तिगत स्कोरमा धामी सुष्मिताकुमारी यादवबाट बोल्ड भएको केहीबेरमैै करुणा रन आउट हुँदा मधेशतर्फ ढल्किएको खेललाई रश्मी सुनारले १५ र रविना धामीले १८ रन बटुल्दै आफ्नो पोल्टामा पारे । ३० बलको सामना गरेकी करुणाले १७० को स्ट्राइक रेटमा ९ चौकासहित ५१ रनको आक्रामक पारी खेलिन । त्यसअघि पहिला ब्याटिङ गरेको मधेशका लागि सना प्रविन र प्रतिमा साहको समान २३–२३ रनको मद्दतमा ११७ को योगफल खडा ग¥यो । मधेसका लागि आरती महतो र शिवानी साहले समान १०–१० रन जोडे ।

आज नै भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कर्णालीमाथि ८ विकेटको फराकिलो जीत निकाल्यो । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै जम्मा ९६ रन जोड्यो । कप्तान तिर्सना विश्वकर्मा १ रनले अर्धशतक बनाउनबाट चुकेकी थिइन् । ओपनर सोविका शाही शून्यमै आउट भएपनि तिर्सनाले ६२ रनको सामना गर्दै एक छक्का र छ चौकाको मद्दतमा नटआउट ४९ रन बनाइन् ।

दोस्रो क्रमकी शिखा दुवाडीले १७ रन जोडिन् । बलिङतर्फ गण्डकीका निरु जीटीले दुई विकेट झार्दा यशोदा भुजेल र जेनिशा शर्माको नाममा एक–एक विकेट रह्यो । ९७ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका ओपनर श्रेया शाह तीन र ज्योत्सिनीका मरासिनीले १३ रनमा आउट भएपछि तेस्रो र चौथो क्रममा ब्याटरले अविजित रहँदै गण्डकीको इनिङ्स सम्हाले । चन्द्रमाया बरालले ५ चौकासहित ३७ बलमा ३९ र दीपिका सापकोटाले पनि ५ चौकासहित २९ बलमा ३२ रन जोड्दै गण्डकीलाई सहज जित दिलाए ।

समूह चरणको अन्तिम खेलमा लुम्बिनीले कोशीलाई जम्मा ४८ रनको लक्ष्य दिएको थियो । सोह्र रन अतिरिक्त पाएको लुम्बिनीका कुनैपनि ब्याटरले दोहोरो अङ्क छुन सकेनन् भने ४ ब्याटर शून्यमै फर्किए । अठचालिस रनको झिने लक्ष्य पछ्याएको कोशीका टीका शाहले ८, पूर्णिमा राजवंशी र प्रिन्सा राना मगरले समान १०–१० रन बनाउँदा खुशीकुमारी राजवंशीले नटआउट ११ रन जोडिन् । कोशीको जीतमा ११ रन अतिरिक्त रह्यो । नेपाल क्रिकेट सङ्घ (क्यान) र कर्णाली प्रदेश क्रिकेट सङ्घको आयोजनामा यही जेठ २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता सोमबार सम्पन्न हुने राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया