विशेष अदालतमा आरोपपत्र दायर

  चैत २८, २०७९

काठमाडौँ, २८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीमाथि आरोपपत्र दायर गरेको छ । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आरोपपत्र दायर गरिएको हो ।

आर्थिक वर्ष २०७२/७३ मा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजस्वबापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरी कार्यकालमा सङ्कलन भएको राजस्व रकममध्ये रु ९३ लाख ६६ हजार दुई सय नौ प्रतिवादी गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरी राजस्व दाखिला नगराएकोमा पोखरेललाई दोब्बर जरिवानासमेतको मागदाबी गरेको छ ।

त्यस्तै राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी रु एक लाख ४१ हजार आठ सय २५ प्रतिवादी गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरी राजस्व दाखिला नगराएकोमा विश्वकर्मालाई दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो ।

त्यस्तै रु ९५ लाख आठ हजार ३४ राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउने कर्तव्य निजले उठाएको राजस्व प्रचलित कानुनबमोजिम सो रकम दाखिला नगरी चुहावट गरेकोमा गुप्तालाई दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो । चौधरीले रु ९५ लाख आठ हजार ३४ रकम हिनामिना गर्नमा प्रतिवादी गुप्तालाई मद्दत पु¥याइ, आफूसमेत संलग्न भई उठाएको राजस्व दाखिला नगरेकोमा दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो । रासस

तपाईको प्रतिक्रिया