कालिगण्डकी डाइभर्सन हुन्न दिन्नौँ : मुख्यमन्त्री अधिकारी

  चैत २७, २०७९

त्रिवेणी, २७ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उहाँले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताउनुभयो ।

“कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग जोडिएको छ, डाइभर्सनले नदी बेसीका फाँट सुक्खा हुन्छन्”, उहाँले भन्नुभयो, “यसकारण हामी कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ ।” त्रिवेणीदेखि कोरलासम्म सडक आवागमन गर्न नसके गण्डकी प्रदेशको औचित्यमाथि प्रश्न खडा हुने उहाँले बताउनुभयो । त्रिवेणी–कोरोला सडक प्रदेशकै महत्त्वपूर्ण सडक भएको बताउँदै दुम्किबास–त्रिवेणी खण्डमा सडक खोल्न बाँकी रहेकाले यो सडक नखोल्दा प्रदेशको औचित्यमाथि नै प्रश्न खडा हुने उहाँले बताउनुभयो ।

त्रिवेणी–दुम्किबास खण्डमा सडक निर्माणका लागि प्रदेश तयार रहेको र स्रोत सुनिश्चित गरी अघि बढ्ने उहाँले बताउनुभयो । निकुञ्जका कारण केही समस्या देखिएकाले वातावरणीय प्रभाव अध्ययनले सुझाए अनुसारको काम गर्न आफूहरू तयार रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो ।

भारत र चीनलाई जोड्ने त्रिवेणीकोरला सडक सबैभन्दा छोटो दूरीको सडक भएकाले यसको महत्त्व थप रहेको चर्चा गर्दै उहाँले त्रिवेणी–दुम्किबास सडकखण्ड खोल्न आवश्यक प्रक्रिया अघि बढेको बताउनुभयो ।

उहाँले संविधानमै गण्डकी प्रदेशको सीमा बर्दघाट सुस्ता पूर्व भनिएकाले बर्दघाट र सुस्ता गण्डकी प्रदेशमा हुनुपर्ने बताउनुभयो । बर्दघाट र सुस्ता हाल लुम्बिनी प्रदेशमा राखिएकाले यो गण्डकी प्रदेशको भूगोल भएको उहाँले बताउनुभयो । संविधान मिचिएकाले यसका विरुद्ध आफूहरू कानूनी प्रक्रियामा जान तयार रहेको उहाँले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया