कर्णालीको गरिबी अन्त्य सबैको सरोकार बन्नुपर्छ : मुख्यमन्त्री शर्मा

  चैत २०, २०७९

कर्णाली, २० चैत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी अन्त्य गर्न सबैको गम्भीर सरोकार रहनुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा कर्णाली प्रदेश सचिवालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यको भूमिकासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले कर्णालीमा आज पनि गरिबीको रेखामुनि रहेका जनसङ्ख्या अधिक भएकाले गरिबी न्यूनीकरणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गरिबीको रेखामुनि रहेको कर्णालीलाई माथि उठाउनका लागि सबै क्षेत्र अग्रसर हुनुपर्छ । यसमा बहस छलफल भइरहेको छ । कर्णालीलाई विकास र समृद्धितर्फ अगाडि बढाउन हामी जो जहाँ छौँ, त्यहीबाट सुरु गर्ने अभियान थालौँ ।”

उहाँले समाज परिवर्तनका लागि व्याख्या गर्नेभन्दा मुख्य कुरा बदल्ने हो भन्दै जनताको अवस्था बदल्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । “व्याख्या दुनियाँले गर्छ, मुख्य कुरा बदल्ने नै हो,” उहाँले भन्नुभयो ।

नीति निर्माण र कार्यान्वयनमा सबैले अपनत्व लिएमात्र अपेक्षित परिणाम आउने बताउनुभएका मुख्यमन्त्री शर्माले दिगो विकासका सन्दर्भमा आर्थिक सम्पन्नता र सामाजिक न्यायको पाटोलाई उचित तवरले अगाडि बढाउन सक्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य, मन्त्री तथा सचिवको सहभागिता रहेको थियो । रासस

तपाईको प्रतिक्रिया