खोटाङ, २० चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा ढलान गरिएको सडकको गुणस्तर परीक्षणमा निर्माण उपभोक्ता समितिले रोक लगाएको छ ।
गत असार मसान्तमा सम्पन्न गरिएको सडक ढलानको काम गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दाले विभिन्न निकायमा उजुरी दिएको लामो समयपछि आइतबार नगरपालिकाको टोली गुणस्तर परीक्षण गर्न बुवालुङ पुगेको थियो ।
नगरपालिकाको टोली आउने जानकारी पाएपछि कामदारसहित भेला भएका वर्तमान निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर बानियाँ तथा पदाधिकारीले कुनै पनि हालतमा परीक्षण गर्न नदिने अडान कसेका थिए ।
निकै आक्रोसित अवस्थामा भेला भएका उनीहरूले सडक ढलानको गुणस्तर यसअघि पटकपटक परीक्षण गरिसकेको भन्दै अब आउने कुनै पनि निकायलाई परीक्षण गर्न नदिने बताएका छन् ।
काठमाडौँबाट झिकाइएको हाइटेक ल्याब प्रालिका इञ्जिनीयरसहित बुवालुङ पुगेका नगर उपप्रमुख विशन राई तथा कर्मचारी विरुद्ध उनीहरूले अपशब्दसमेत प्रयोग गरेका छन् । आक्रोसित भीडलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकको टोलीसमेत बुवालुङ पुगेको थियो ।
यसअघि गरिएका परीक्षणको आधारमा नगरपालिकाले भुक्तानी दिए लिने अन्यथा भुक्तानीसमेत नलिने वर्तमान अध्यक्ष बानियाँले बताउनुभयो । “हामीले नगरपालिकाको इञ्जिनीयर नै राखेर काम गरेका हौँ । नगरपालिकाले भुक्तानी रोकेपछि दिनरात कामदार घर घेर्न आउँछन् । मैले के जवाफ दिनु रु कति जनालाई सम्झाउनु रु”, उहाँले भन्नुभयो, “नगरपालिका धाउँदा–धाउँदा दिक्दार भएपछि अब भुक्तानीसमेत नलिनेमा हामी पुगेका हौँ । यसअघि गरिएका परीक्षण तथा मूल्याङ्कनको आधारमा भुक्तानी दिए लिने, नदिए नलिनेमा हामी पुगेका छौँ ।”
तत्कालीन अध्यक्ष हरिकुमार खत्री स्थानीय तहको निर्वाचनमा सदस्य उम्मेदवार भएपछि बानियाँलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको पाइएको छ । तत्कालीन अध्यक्ष खत्री अहिले नेकपा (एमाले) बाट निर्वाचित वडा सदस्य हुनुहुन्छ ।
गुणस्तरहीन काम गर्ने उपभोक्ता समितिका पदाधिकारीले नै परीक्षणमा अवरोध गरेपछि सर्जमिन मुचुल्का बनाएर फर्किएको अनुगमन समितिका संयोजकसमेत रहनुभएका नगर उपप्रमुख राईले बताउनुभयो । “प्राविधिक स्टामेटमा उक्त सडक १५ सेन्टिमिटर ढलान गर्नुपर्ने उल्लेख छ । आठ सेन्टिमिटर मात्र ढलान गरेको पाइयो । यो योजना अघिल्लो जनप्रतिनिधिको पालामा विनियोजित बजेटबाट सञ्चालन भएको हो”, उहाँले भन्नुभयो, “उहाँहरू (नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राई) को पालामै गुणस्तरहीन भएपछि रोकिएको रहेछ । हामी निर्वाचित भएर आएपछि गुणस्तर कायम गर्न निर्देशन दिइए पनि वडाध्यक्षले जबरजस्ती काम अगाडि बढाउँदा समस्या आएको हो । उपभोक्ता समितिले नै अवरोध गरेपछि झनै समस्या सिर्जना भएको छ ।”
दश महिनाअघि ढलान गरिएको सडक अहिले विभिन्न ठाउँमा फुटेको छ भने अधिकांश ठाउँमा उप्किन थालेको छ । सङ्घीय सरकारको रु ६८ लाख र वडाको रु १० लाख गरी रु ७८ लाख तथा उपभोक्ता समितिको १० प्रतिशत लागतमा मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको नौ सय १७ मिटरमध्ये पाँच सय ८५ मिटर सडक ढलान गरिएको हो ।
मध्यपहाडी लोकमार्गदेखि तीन सय ३२ मिटर सडकखण्ड गोल्डेन गुड कम्पनीले निःशुल्क कालोपत्र गरिदिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र गर्नेक्रममा गोल्डेन गुड कम्पनीले कालोपत्र गरेको उक्त सडकसमेत गत वर्ष आएको बाढीले खोलेर जीर्ण बनेको पाइएको छ ।
उपभोक्ता समितिले विसं २०७८ असोज–१८ गते नगरपालिकासँग सम्झौता गरे पनि उक्त सडक ठेकेदारमार्फत गुणस्तरहीन ढलान गरिएको स्थानीय बासिन्दाको आरोप छ । सडक ढलान गुणस्तरहीन भएको भन्दै गत माघ–२ गते स्थानीय जयप्रकाश राईले जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरीसमेत दिनुभएको थियो । प्रशासनमा उजुरी परेपछि बनेको छानबिन समितिले ढलान गरिएका सडकको परिमाण पूरा भए पनि गुणस्तर नभएको भन्दै भुक्तानी दिन नमिल्ने बताएको थियो ।
सडक ढलानको काम गुणस्तरहीन भएको विषयमा अख्तियारमा उजुरी परेको र नगरपालिकाका तर्फबाट काम रोक्न निर्देशन दिइए पनि वडाध्यक्ष लीलाकुमार चौहानले आफूखुसी काम गरेकाले भुक्तानी रोकिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।
वडाध्यक्ष चौहानले राजनीतिक पूर्वाग्रही ढङ्गले आफ्नो वडामा सञ्चालित सडक ढलान योजनाको रकम भुक्तानी रोकेको आरोप लगाउँदै आउनुभएको छ । “उपभोक्ता समितिले नगरपालिकाकै प्राविधिक राखेर सम्झौताअनुसारको तोकिएको समयमा काम सम्पन्न गरेको छ ।
तोकिएको समयमा काम सम्पन्न गरे पनि उपभोक्ता समितिले पेश्कीबापतको रकमबाहेक एक पैसा पनि लिएको छैन । यो रोक्नुको कारण के हो ? हामीले अहिलेसम्म बुझेका छैनौँ”, उहाँले भन्नुभयो, “राजनीतिकरूपमा प्रतिशोध साँध्न भुक्तानी रोकिएको छ । यसले जटिल रूप लिने अवस्था छ ।”
निर्माणस्थलमा खटिएका प्राविधिक भोजराज सुनुवारले आफू सुरुको चरणमा निर्माणस्थलमा रहेको र पछिल्लो समय वडाध्यक्ष चौहानले आफूखुसी काम गराएकाले समस्या आएको बताउनुभएको छ ।
“मैले काम गराएको ठाउँमा गुणस्तरमा कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “आफू नभएको समयमा गरेको कामको जिम्मा म लिन सक्दिनँ, आफू बसेर गराएको कामको प्रतिवेदनसमेत बुझाएको छु । अहिले सबै काम सम्पन्न भइसकेको छ । त्यसको प्रतिवेदन अरुले नै बनाएका छन् ।”
एमालेको तर्फबाट वडाध्यक्ष जित्नुभएका चौहानको वडामा सञ्चालित सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती, कृषि अनुदानलगायतका विकासे योजनाका काममा अनियमितता भएको भन्दै विभिन्न समयमा विभिन्न निकायमा उजुरी परेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकासबाट रकम निकासा गरिए पनि योजना अलपत्र परेको भन्दै स्थानीयवासीले वडाध्यक्ष चौहानलाई विपक्षी बनाएर उजुरी दिएका हुन् ।
वडाध्यक्ष चौहानमाथि विभिन्न निकायमा परेका कुनै पनि उजुरीमा अहिलेसम्म फैसला भएको छैन । वडाध्यक्ष चौहानले कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग निर्माणका लागि सिस्ने–हर्कटे सामुदायिक वनमा अवैध ढुङ्गा खानी सञ्चालन गर्न लगाएको भन्दै स्थानीयवासीले वडाध्यक्ष चौहानमाथि कारबाही गर्न माग गरेका छन् । रासस






