लुम्बिनी, १७ चैत : राष्ट्रिय समाचार समिति (रासस)ले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीअन्तर्गत शितगङ्गा नगरपालिका–८ जलुकेमा प्रदेश कार्यालय भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि आज प्रस्ताव पेश गरेको छ ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आज प्रदेश राजधानीअन्तर्गत अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका–८ जोलुकेमा दुई रोपनी जग्गा उपलब्ध गराउन नगरपालिका समक्ष प्रस्ताव गर्नुभयो ।
कार्यकारी अध्यक्ष झासहितको राससको टोलीले नगर प्रमुख छविलाल पौडेललाई भेटेर उक्त जग्गा उपलब्ध गराउन वडा कार्यालयको सर्वदलीय बैठकले गरेको निर्णय र सिफारिस पत्रसहित प्रस्ताव पेश गर्नुभएको थियो ।
टोलीमा रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, बजार प्रमुख राजाराम कार्की र लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसी रहनुभएको थियो ।
त्यस अवसरमा नगर प्रमुख पौडेलले आफ्नो पालिका पनि प्रदेश राजधानी पर्ने भएकाले जनतालाई सहि र जिम्मेवारिपूर्वक सूचना उपलब्ध गराउने राज्यको सञ्चारमाध्यम राससले सरचना निर्माण गर्ने कार्यको प्रसंसा गर्नुभयो । उहाँले राससलाई जग्गा उपलब्ध गराउनेदेखि भवन निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग पु¥याउने बताउनुभयो ।
नगरप्रमुख पौडेलले शितगङ्गा नगरपालिकामा जनताले सेवा लिन भौगोलिक हिसावले निक्कै समस्या रहेकाले सीमित साधन स्रोतका बावजुद पनि जनतालाई सहज सेवा दिने प्रयास गरिएको बताउनुभयो ।
यस्तै राससका कार्यकारी अध्यक्ष झाले रासस सङ्घीय भावनाअनुसार प्रदेशमा सरचना निर्माण गरेर सेवा सञ्चालन गर्ने योजनाअनुसार प्रदेश सरकार र शितगङ्गा नगरपालिकासँग सहकार्य गरेर अगाडि बढने बताउनुभयो ।
उहाँले राससले सबै तहका सरकारले जनतालाई प्रदान गर्ने सेवा प्रभावसँगै जनतालाई सूसुचित गर्ने काम गर्दै आएको बताउदै अव प्रदेश राजधानीमा राससको संरचना निर्माण गरेर सेवा प्रवाह गरिने बताउनुभयो ।
राससले सङ्घीयताको मर्म बमोजिम आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश कार्यालय स्थापना र संरचना निर्माणको प्रारम्भिक थालनी सुरू गरेको रासस लुम्बिनी प्रदेश कार्यालय प्रमुख केसीले बताउनुभयो । रासस






