पुन : श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट

  चैत १७, २०७९

​​​​​​​काठमाडौँ, १७ चैत : आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो ।

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ । त्यसका लागि वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताउनुभयो ।

यसअघि सात वटै प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य अगाडि बढाइएको थियो । त्यसपछि पनि श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थियो ।

सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले यो निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो।

तपाईको प्रतिक्रिया