मोरङ, १६ चैत : नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको उपलक्ष्यमा सूचनाको हकको क्षेत्रमा काम गर्ने दुई अभियन्तालाई ‘षष्टिका बस्नेत’ पुरस्कार प्रदान गरिएको छ ।
विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले श्रीमती षष्टिकाको स्मृतिमा रू सात लाख अक्षयकोषसहित पत्रकार महासङ्घ मोरङद्वारा संयुक्तरूपमा स्थापित षष्टिका बस्नेत सूचनाको अधिकार–२०७९ बाट सूचना अभियन्ता काशीराज दाहाल र कोशी प्रदेश अभियन्ता रोशनहरि अधिकारीलाई प्रदान गरिएको छ ।
राष्ट्रिय अभियन्तालाई रू ५० हजार ५१ र कोशी प्रदेश अभियन्तालाई रू १५ हजार ५१ पुरस्कार राशिसहित प्रमाणपत्र वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङले पुरस्कार वितरण गर्दै सञ्चारकर्मीले जनतालाई सत्यतथ्य सूचना प्रवाह गरी राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई बलियो बनाउने कार्य गर्न आग्रह गर्नुभयो ।
उहाँले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रलाई सुदृढ बनाउन र जनताको घरदैलोमा सूचना प्रवाह गरी नागरिकलाई सचेत गराउन पत्रकारको भूमिका महत्वपूर्ण हुने विचार राख्नुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले मुलुकमा पारदर्शीता एवं सुशासन कायम गर्न सूचनाको हकको प्रयोग प्रभावकारी रहेको बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको काम कारवाहीप्रति स्वस्थ आलोचनाको स्वागत गर्ने बताउँदै नागरिकलाई सही सूचना उपलव्ध गराउन सूचना अधिकारी नियुक्त गरिएको जानकारी दिनुभयो ।
पुरस्कृत व्यक्तित्व दाहालले सूचनाको हकलाई अझ सबल बनाउने कार्यमा प्रतिबद्धता व्यक्त गर्दै राज्यले पत्रकारको सुरक्षाका लागि सहयोगी हुनुपर्ने धारणा राख्नुभयो । रासस






