भजनी, कात्तिक २४ : गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताउनुभएको छ । इलाका प्रशासन कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उहाँले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताउनुभयो ।
“राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधा गृह मन्त्रालयमार्फत थप हुँदै गएका छन् । जनशक्ति थप हुने कुरामा समस्या हुँदै आएको छ”, उहाँले भन्नुभयो, “भएको जनशक्ति पनि कामको चाप बढी हुने भएकाले प्रशासनमा बस्न मान्दैनन् ।” उहाँले कर्मचारीलाई प्रशासन क्षेत्रमा टिकाउनका लागि थप सेवा सुविधाको व्यवस्थापन गर्न आवश्यक देखिएको उल्लेख गर्दै त्यसमा मन्त्रालयले समन्वय गरिरहेको बताउनुभयो ।
सेवाग्राहीका दृष्टिकोणले इलाका प्रशासन कार्यालय टीकापुरमा जनशक्ति थप गर्ने कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले ११ कर्मचारीले कैलालीको कूल जनसङ्ख्याको एक तिहाइ सेवाग्राहीलाई सेवा प्रवाह गर्नु चानचुने कुरा नभएको बताउनुभयो ।
“समस्या देशैभरका प्रशासनमा छ । कामको चाप बढी, जनशक्ति कम हुँदा सेवा प्रवाह समस्या देखिनु स्वाभाविक हो । इलाका प्रशासन कार्यालय टीकापुरको कार्यालय व्यवस्थापनसँगै कर्मचारी व्यवस्थापनमा गृहको ध्यान जानेछ ।”
विसं २०७७ पुस २६ गते प्रशासन कार्यालयको भवन निर्माणका लागि नागार्जुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । विसं २०७९ पुस २५ गते सम्पन्न गर्नुपर्ने भवनको काम निर्माण कम्पनीले समयभन्दा अगाडि विसं २०७९ असोज ७ गते नै सम्पन्न गरिसकेको थियो । रु तीन करोड २३ लाख ८८ हजार पाँच सय ३१ को लागतमा भवन निर्माणको लागि सम्झौता भएको थियो ।
इलाका प्रशासन कार्यालय टीकापुरमा कैलालीका पाँच स्थानीय तहका सेवाग्राही सेवाका लागि आउने गरेका छन् । टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका करिब तीन लाख १५ हजार सेवाग्राहीले प्रशासन कार्यालयबाट सेवा लिने गरेको कार्यालयका प्रमुख पुष्कर खड्काले जानकारी दिनुभयो ।
“दैनिक ७० देखि ८० नयाँ नागरिकता, ५० देखि ६० नागरिकताको प्रतिलिपि लिनका लागि मात्रै सेवाग्राही प्रशासनमा आउने गर्नुभएको छ”, कार्यालय प्रमुख खड्काले भन्नुभयो, “जनशक्ति निकै कम छ । भएको दरबन्दीअनुसार पनि कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।”






