खेतमा पुगेका उम्मेदवारसँग किसानका गुनासा

  कार्तिक २४, २०७९

मध्यविन्दु (नवलपरासीपूर्व), कात्तिक २४ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार मत माग्न गाउँ–गाउँ पुगेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेक प्रयास गरिरहेका भेटिन्छ । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।

यतिखेर नवलपरासी पूर्वमा धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ छ । कावासोती नगरपालिका–६ विष्णुनगरकी ७२ वर्षीया पूर्णकला भट्टराईलाई निर्वाचनमा भोट हालेको लामो अनुभव छ । विसं २०७४ को निर्वाचनमा भोट हाल्दा उत्पन्न भएको उत्साह अहिले बाँकी नरहेको उहाँ बताउनुहुन्छ ।

किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ छ । खेतबारीमा धान थन्काउन व्यस्त भट्टराईले भन्नुभयो, “नेता आउँछन् भनेर घरमा उहाँहरूलाई कुरेर बस्न सकिन्नँ, हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामी किसानलाई मल, बीउ आदिमा सहयोग गर्ने भए पो ।”

हरेक निर्वाचनमा दलहरूले बाँड्ने आश्वासनले न दैनिकी फेरिएको छ, न त गाउँमा कुनै समस्या समाधान नै भएकोे छ । “जनताका समस्याप्रति उम्मेदवारले चासै दिँदैनन्, हरेक पटक जनतालाई झुक्याउने काममात्रै भयो ।” निर्वाचनमा दलहरूले दिने भाषण जनताका समस्याभन्दा माथिका हुने गरेको भट्टराईको गुनासो छ ।

धान स्याहार्ने बेला छ । अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त देखिन्छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा खेतबारीमा भेटिन्छन् । त्यसैले उम्मेदवार पनि खेतमै पुगेर मत मागिरहेका हुन्छन् ।

कावासोती नगरपालिका–५ की लक्ष्मी सिग्देल उम्मेदवार घर पुग्दा खेतबारीमा धान स्याहार्न व्यस्त हुनुहुन्थ्यो । चर्को घाममा ६० वर्षीया सिग्देल वर्षभरि खाने धान थन्क्याउन खेतमै व्यस्त हुनुहुन्छ । कृषि पेसाको आधुनिकीकरण, मल तथा बीउबिजनको सुलभता र कृषि उपजको बजारीकरण गर्ने नीति ल्याउने उम्मेदवारलाई किसानले मत दिने उहाँको भनाइ छ ।

गाउँमा किसानका समस्या चर्का छन् । समयमा मल, बीउ उपलब्ध छैन, हरेक वस्तुमा दिनदिनैजसो मूल्यवृद्धि भइरहेको छ, लगानी धेरै गर्नुपर्ने तर सोचेअनुरुपको भाउ किसानले नपाउने गरेको देवचुलीका कृषक रामप्रसाद भण्डारी बताउनुहुन्छ ।

जुन उम्मेदवारले पनि भाषणमा मात्र यो वा त्यो समस्या समाधान हुन्छ भन्ने गरे पनि यस्ता समस्या समावेश नै नहुने उहाँको बुझाइ उहाँको छ । बरु जनता कसरी आफ्नो पक्षमा पार्न सकिन्छ र चुनाव जितिन्छ भन्नेमात्रै ध्यानमा दलहरू लागेको भण्डारीले बताउनुभयो ।

आफूले जिते गाउँ र नगर समृद्ध हुने उम्मेदवारका दाबी अहिले पनि दोहोरिएका छन् । निर्वाचनका समयमा दलहरूले बाँड्ने आश्वासनमा विश्वासै लाग्न छाडेको मतदाता बताउँछन् । हरेकपटक निर्वाचनमा नेताले आश्वासन दिने गरेकाले विश्वास नै लाग्न छाडेको भण्डारीले बताउनुभयो ।

यता उम्मेदवारलाई पनि चुनावी प्रचार–प्रसारको हतारो छ । उम्मेदवारहरू किसानले लगाएको धानबारीमा देखिने गरेका छन् ।

तपाईको प्रतिक्रिया