शोक वक्तव्य– मुख्यमन्त्री राई

  कार्तिक २३, २०७९

विराटनगर, कात्तिक २३ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज भएको असामयिक निधनले स्तब्ध भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले एक शोक वक्तव्य जारी गर्दै सरल, मिलनसार, मिजासिलो स्वभावका मन्त्री थापा विषयवस्तुको गहिरो अध्ययन गर्ने एक अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो भन्नुभएको छ ।

“एउटै मन्त्रिपरिषद्मा रहँदा, बस्दा गरेका काम र साथको एउटा गहिरो सम्झना छाडेर उहाँ यो भौतिक संसारबाट विलीन हुनुभएको अपत्यारिलो खबर सुन्नुपर्दा अत्यन्त दुःखित् छु ।

म यस क्षणमा लोकतन्त्रप्रति सदा प्रतिबद्ध रही मन्त्री थापाले कुनै पनि दबाब वा प्रभावमा नपरी आफ्नो कार्यसम्पादन कुशलतापूर्वक सम्पन्न गरेको विशेष स्मरण गरिरहेको छु”, उहाँले वक्तव्यमा भन्नुभएको छ ।

आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा जनताबाट प्रत्यक्ष निर्वाचित भई जनप्रतिनिधि बन्ने चाहनाका साथ उहाँ नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नं ३ (१) को प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहनुभएका उहाँ उम्मेदवारी दिएलगत्तै डेङ्गु, निमोनियालगायतका रोगबाट सङ्क्रमित हुनुभएको थियो ।

“अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी प्राप्त भइरहेको अवस्थामा आज आकस्मिकरूपमा उहाँको ५७ वर्षकै उमेरमा निधन भएको खबर सुन्नुपरेको छ ।

म दिवङ्गत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै शोकको यस घडीमा शोकाकूल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछु”, शोक वक्तव्यमा उल्लेख छ ।

कात्तिक २४ गते सार्वजनिक बिदा तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय

प्रदेश नं १ सरकारले प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको आज निधन भएकामा कात्तिक २४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मालिम तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाद्वारा आज जारी सूचनामा मन्त्री थापाको निधनमा कात्तिक २४ गते बिहीबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया