रसुवा, कात्तिक २१ : निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्दै आशन्न निर्वाचन सफल पार्न आफूहरू दृढरूपमा अगाडि बढ्ने रसुवाका पत्रकारले प्रतिबद्ध जनाएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई सफलपार्न जिल्ला निर्वाचन कार्यालय रसुवाद्वारा आयोजित ‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रममा यहाँ क्रियाशिल पत्रकारले आचारसंहिता पूर्णरूपमा पालना गर्ने र आचारसंहिता उल्लङ्घनका गतिविधि न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय समाचार समिति९रासस०का ज्ञानेन्द्र न्यौपाने, नेपाल टेलिभिजनका सुशील कोइराला, कान्तिपुर दैनिकका बलराम घिमिरे, नेपाल समाचारपत्र एवं त्रिशूली प्रवाह साप्ताहिक र सैलुङ अनलाइनकी सरस्वती न्यौपाने, जिल्लामा सञ्चालित रसुवा एफएम रेडियोकाद्वय दावाकर्मो लोप्चन र मञ्जु तामाङ, लाङ्टाङ एफएम रेडियोकी गीता न्यौपानेसहित स्थानीय संवाददाताको सहभागिता थियो ।
जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले आशन्न निर्वाचन सफल पार्न रसुवामा कार्यरत पत्रकारले पूर्णरूपको सहयोग गर्नेमा आफू आशावादी भएको बताउँदै झुठा समाचार लेख्ने र भ्रमपूर्ण अभिव्यक्ति दिनेप्रति सजक रहन यहाँका पत्रकारलाई अनुरोध गर्नुभयो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको सम्पूर्ण खाका पत्रकारसामु प्रस्तुत गर्दै जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले आशन्न निर्वाचनमा चार वटा मतपत्र प्रयोग हुने र प्रयोगको तौरतरिका मतदातासामु सिकाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिनुभयो ।
मतदानका लागि ३४ स्थानको ५२ वटा मतदान केन्द्रबाट २०७९ साल मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मतदान गर्न पाउने प्रावधानअनुरूप रसुवामा १९ हजार तीन सय ४० महिलासहित कूल ३९ हजार चार सय ५९ मतदाताले मतदान गर्ने थापाले बताउनुभयो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले यहाँ कार्यरत पत्रकारमार्फत प्रकाशन प्रसारण भएका सबै समाचार यथार्थतामा आधारित भएको पाइएकाले आशन्न निर्वाचन सफल पार्न सञ्चारकर्मीको महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार महासङ्घका अध्यक्ष केशव पौडेलले जिल्लामा क्रियाशील सबै पत्रकारले निर्वाचन आचारसंहिताको पूर्णपालना गरी राष्ट्रिय अभियान सफल तुल्याउन लागिपर्ने विश्वास दिलाउनुभयो । पत्रकार न्यौपानेले निर्वाचनमा निष्पक्ष समाचार सम्प्रेषणका लागि सोहीअुनसार तथ्यहरू पत्रकारलाई उपलब्ध गराउन अनुरोध गर्नुभयो ।






