धारा निर्माण भएको आठ महिनासम्म पनि पानी आएन

  कार्तिक १९, २०७९

बझाङ, कात्तिक १९ : खप्तडछान्ना गाउँपालिका-५ मतुवाकी शर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ । नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उहाँको नियति जस्तै हो ।

उपाध्यायलाई गत चैतमा भने लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशा पलायो । टोलमै नयाँ खानेपानीको धारा बनेपछि पानीका लागि दुःख गर्नु नपर्ने भन्दै टोलवासीमै खुशियाली छायो । धारा त जडान भयो तर अहिलेसम्म पानी आएको छैन ।

“धारामा पानी आउँछ भनेर कुर्न थालेको आठ महिना भइसक्यो”, उपाध्यायले भन्नुभयो, “यहाँ न पानी आयो, न प्लम्बर (पानीको धारा बनाउने व्यक्ति) टोली नै आए । हामी फेरि कुवाकै भर पर्नु परेको छ ।”

शर्मिलाको समस्या गाउँवासीकै समस्या हो । “पानी नआउँदै धारा पुराना हुने भए”, सोही ठाउँकी सविता उपाध्यायले भन्नुभयो, “भोलि-पर्सी नै आउँछ भनेको पानी आठ-नौ महिना बित्दा पनि आउने सुरसारै छैन ।” उहाँका अनुसार धारा निर्माण गर्ने उपभोक्ता समितिले धारामा पानी छिट्टै आउने आश्वासन मात्रै दिइरहेको छ ।

उपाध्यायका अनुसार अहिले गाउँमा भएको पुरानो धाराबाट पनि निकै कम पानी आउँछ । “खाना पकाउन लागि एक गाग्री पानी भर्न पनि एक घण्टा नै कुर्नुपर्छ । कहिलेकाहीँ त दिउँसो पानी भर्न घुइँचो लाग्ने हुँदा राति भर्नुपर्छ”, उहाँले दुखेसो पोख्नुभयो ।

गाउँमा दिनहुँ खानेपानीको समस्या हुनुमा उपभोक्ताको लापरबाही कारक भएको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर सिंहको भनाइ छ । “बाहिरको ठेकेदार भए त टाढा हुन्थ्यो । गाउँमै बस्ने उपभोक्ता समितिका पदाधिकारीले गाउँकै समस्यालाई बेवास्ता गर्नु भनेको ठूलो लापरवाही हो”, उहाँले भन्नुभयो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष विक्रम सिंहले भने पानीको ट्याङ्की, पाइप बिछ्याउने काम सकिएको र छिट्टै धारामा पानी आउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया