पथरी, कात्तिक १९ : पथरी शनिश्चरे नगरपालिकाले नगरभित्रबाट सङ्कलित फोहरमैला वनमा लगेर फाल्नाले वनक्षेत्र प्रभावित हुँदै गएको छ ।
पथरी बजारदेखि करिब एक किलोमिटर उत्तरमा रहेको खोला नजिकै फोहर फाल्नाले खोलाका साथै वनक्षेत्र प्रभावित हुँदै गएको हो । नगरले सङ्कलन गरेको फोहर वन क्षेत्रभित्र जलाउँदै आएका कारण समूदायमा असर परेको छ । फोहर जलाएको स्थानमा ठूल्ठूला सालका रुख जलेर नष्ट भएका छन् ।
नगरको फोहरमैला व्यवस्थापन सही ढङ्गले नहुँदा समूदायमा समस्या थपिँदै गएको मनकामना सामूदायिक वनका अध्यक्ष दिनेश राईले बताउनुभयो । नगरलाई यस विषयमा जानकारी गराउँदासमेत बेवस्था गरेको राईको भनाइ छ ।
वन तथा वातावरणीय दृष्टिकोणले वन क्षेत्रभित्र फोहर फाल्नु गैरकानूनी मानिन्छ । तर नगरले समूदायमा असर पुग्ने गरी खोलाको छेउमा फोहर जलाउँदै आएको छ । वैज्ञानिक व्यवस्थापनमार्फत् फोहरको उचित व्यवस्थापन गर्नुपर्नेमा नगरले आफैँ जङ्गलको विनाश गर्दै आएको शान्ति सामूदायिक वन उपभोक्ता समूहका कार्यवाहक अध्यक्ष हेमभत्त गुरुङले बताउनुभयो ।
नगरले फोहोर फाल्ने क्षेत्र शान्ति सामूदायिक वन उपभोक्ता समूह र मनोकामना सामूदायिक वनमा पर्छ । फोहरमैलाका कारण समूदायमा असर परेको भन्दै विभिन्न सङ्घ सङ्गठनले नगर र सेक्टर वन कार्यालय पथरीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।






