महोत्तरी, कात्तिक १९ : मुलुक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सङ्घारमा छ । अहिले निर्वाचन प्रचारमा जुटेका दल र उम्मेदवारले बस्ती बस्तीमा विभिन्न भाखा र लयमा प्रचारप्रसारका गीत बजाउँदैछन् । दिनभरिका थरीथरीका यी गीत कतिलाई झर्कोलाग्दो पनि हुन्छ । तर, मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा राती गुञ्जने ‘सामा’ गीत भने सबैका लागि अत्यन्त कर्णप्रिय छ । न कुनै बाजागाजा, न माइकको कर्कस स्वर १ एक लयमा मिथिवासीले सामूहिक गाउँदै आएका ‘सामा’ गीत अब समापनको सङ्घारमा छ ।
‘सामा’ पर्वमा गाइने गीतमा दाजुभाइको कल्याण कामना र सौर्यवृद्धिको अभीष्ट हुन्छ । आफ्ना दाजुभाइको मङ्गल कामनामा गाइएका गीतको प्रेमपूर्ण भावले यो सबैका लागि कर्णप्रिय बनेको हो । मिथिवासीले गाउने गीतमा विकासको अभीष्ट पनि हुन्छ । बस्ती वरपर हुने लोककल्याणका विकास कार्यको नेतृत्व आफ्ना दाजुभाइले गर्दिऊन् र उनीहरुको सुकीर्ति फैलियोस् भन्ने गीतका भाव हुन्छन् ।
“गामक अधिकारी, हमर बड्का भैया हो, गाममे पोखरी खुना दिय, चम्पा पूmल लगादिय..!” (गाउँका मुख्य हाम्रा जेठा दाइ हुन् , हे दाजु, गाउँमा पोखरी खनी दिनोस् र सुवास दिने चम्पा पूmल लगाइदिनोस्) । ‘सामा’को परम्परा थालिएका बेला गाउँबस्तीमा पोखरी खनाउनु ठूलो कीर्तिको काम मानिने हुँदा दिदीबहिनीको गीतमा यस्तो भाव व्यक्त हुँदै आएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा।राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । मिथिलामा बोलीचालीमा ‘सामा’ मात्र पनि भनिने ‘सामाचखेवा’ पर्व अब समापनको सङ्घारमा छ ।
कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ का दिन गत आइतबारबाट सुरु भएको यो पर्व पूर्णिमाका दिन आउने मङ्गलबार समापन गरिनेछ । भनौँ दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व मिथिलानी अब समापन गर्ने तयारीमा जुटेका छन् । मिथिलानी ९मिथिलाका नारी० ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व अबको तीन दिनपछि आउने मङ्गलबार समापन हुँदैछ ।
कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म जम्मा ११ दिन मनाइने यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् ।
“हमर दिल्लीमे रहल भाइ आइए काइलमें आयब जायत, हम काइले बात कैलिय” (मेरा दिल्लीमा रहेका भाइ आजभोलि नै आइपुग्छन्, मैले हिजै उनलाई फोन गरि सकेकी छु )
सामा समापनका काममा जुटेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराकी सङ्गीता चौधरी (थारू) ले भन्नुभयो, “आब भाइके लेल मिष्ठान्न परिकारक जोगाडमें लगैछी” (अब भाइका लागि मिष्ठान्न परिकारको जोहोमा लाग्नेछ’ ।
आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्शाउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको मिथिलानी बताउँछन् । “चकमन्न रातमा साथीहरु जम्मा हुन्छौँ, गीत गाउँछौँ, त्यसबेला ठट्टा हासपरिहास हुन्छ, अनि खेल भएन त..?”, ‘सामा’ रमाइलो खेल भएको बताउने महोत्तरीकै बर्दिबास नगरपालिका–२ की शैल सहनी भन्नुहुन्छ, “आफ्ना दाजुभाइप्रति गौरवबोध गर्नु र आपसी सम्बन्ध प्रगाढ बनाउने सन्देससँगै आपसी (सामा खेल्नेहरु) ठट्टा परिहासले १० दिन बितेको पत्तै हुँदैन, ११औँ दिन त पर्व समापन भइहाल्छ ।”
मध्यरातसम्मको चकमन्न समयमा नगर÷गाउँ बस्तीको चौबाटोमा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आपूmहरुप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने गरेको मिथिलाका युवा बताउँछन् । “कार्तिक मासे यौ भैया ‘सामा’ लेलक अवतार, सयौँ बरख जियौ यौ भैया सामा लेलक अवतार” ९हे दाजुभाइ हो, कात्तिक महिनामा ‘सामा’ (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएकी छन् । तिमी सयौँ वर्ष बाँच्छाँै, ‘सामा’ (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छन् ।) दाजुभाइको दीर्घायुको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुनेहरु खुसीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चैं किन दिदीबहिनी भएनछन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै भटौलिया गाउँका युवा सामाजिक कार्यकर्ता प्रवीण कर्ण बताउनुहुन्छ ।
“चलु बहिना सामा खेल भैयाके आँगन हे।.जुग जुग जियथिन भैया अपन हे…!’ (हिँड दिदीबहिनी हो (‘सामा’ खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) ‘सामा’ खेल्न दाजुको आँगनमा जाऊँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन् ।
मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ । “चोकचोकमा अरूका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु” आफ्ना दिदीबहिनी नभएका लोहारपट्टि–१ बगडाका रामजीवन यादव भन्नुहुन्छ, “के गराँै।।।रु आफ्ना दिदीबहिनी भएनन् ।” यही दिदीबहिनी नभएको न्यास्रोले अब आफ्ना छोराहरुले न्यास्रिनु नपरोस् भनेर एउटी छोरीको कामनामा दुई छोरा भइसक्दा पनि परिवार नियोजन नगरेर अझै छोरी पर्खेको यादवको भनाइ छ ।
पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणाबापत दिने चलन छ । यी आकृति दिदीबहिनीले कात्तिक शुक्ल पञ्चमीका दिन दाजुभाइलाई नै माटो खन्न लगाई त्यो मुछेर बनाउने गर्छन् ।
दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्षपहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा (कुरा लगाउँदा) छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ ।
कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्वले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने बरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्वको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का भाषा साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।






