प्राकृतिक स्रोतबाट लाभ लिन आग्रह

  कार्तिक १८, २०७९

गण्डकी, कात्तिक १८ : दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य ली साङ हनले पोखराको पर्यटन व्यवसायीलाई यहाँको प्राकृतिक स्रोतबाट लाभ लिन आग्रह गर्नुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा सदस्यसँग आज भएको छलफलमा उहाँले नेपाल ईश्वरीय बरदान प्राप्त मुलुक भएको बताउँदै यहाँका साधनस्रोतको संरक्षण र उपयोग हुनुपर्नेमा जोड दिनुभयो ।

यहाँको पानीलाई विश्वकै अग्ला हिमालको शुद्ध पानी भनेर संसारभर बेच्न सकिने उदाहरण दिँदै उहाँले पोखराको पर्यटन प्रवद्र्धनको जिम्मा निजी क्षेत्रले लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालसहित विकासोन्मुख राष्ट्रलाई कोरियाले प्रविधि हस्तान्तरणको माध्यमबाट सघाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घ र कोरियाका उद्योगी-व्यवसायीबीच पुलको काम गर्ने उहाँले बताउनुभयो । तीन सदस्यीय भ्रमण दलमा उहाँसँगै व्यवसायीहरू यो प्यो किम र साङपिल किम सहभागी हुनुहुन्थ्यो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले भ्रमण दललाई स्वागत गर्दै नेपाल र कोरियाका व्यवसायीबीच भाइचारा सम्बन्ध स्थापना, ‘बी टू बी’ मिटिङको प्रबन्ध गर्न आग्रह गर्नुभयो ।

उहाँहरुले नेपाली उत्पादनको बजारीकरणमा सहयोग एवम् नेपालको पर्यटन प्रवद्र्धनका कार्यक्रमका लागि सहजीकरण गर्न पनि अनुरोध गर्नुभयो । नेपालमा जडीबुटी, हस्तकला, वास्तुकला तथा प्राङ्गारिक उत्पादनहरूको प्रचुर सम्भावना रहेको उहाँको भनाइ छ ।

नेपालमा दक्षिण कोरियाली पर्यटकको आगमन बढाउन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्न सङ्घ तयार रहेको बताउँदै त्यसको व्यवस्थापन गर्न पनि उहाँले आग्रह गर्नुभयो । नेपालमा द्रूत गतिको आर्थिक विकास सम्भव रहेको र त्यसका लागि प्रविधि चाहिएको उल्लेख गर्दै उहाँले प्रविधि हस्तान्तरण र कोरियन लगानीका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया