टङ्कीसिनवारी, कात्तिक १७ : मोरङमा विभिन्न दलको प्रचार आक्रामक छ । आजदेखि दलको ¥याली र कोणसभाले मोरङका विभिन्न स्थान व्यस्त बन्दै गएका छन् ।
सीमित स्रोत, साधन र जनसम्पर्कका कारण अधिकांश स्वतन्त्र उम्मेदवारको प्रचार प्रसारले अझै गति लिन नसकेको महसुस गरिएको छ । केही स्वतन्त्र उम्मेदवार एक्लै दुक्लै मतदाता रिझाउन घरदैलोमा निस्किएका छन् भने कोही स–सानो झुण्ड बनाएर कोणसभामार्फत मतदाता आकर्षित गर्ने प्रयासमा लागेका छन् ।
जनतालाई सर्वोपरी ठानेर निर्वाचनमा होमिएको र आफ्नो भाग्य जनता जनार्दनको हातमा सुम्पिएको भन्दै जनतासँग साइनो कोट्याउँदै भावनात्मक मत तान्ने कतिपय स्वतन्त्र उम्मेदवारको दाउ छ । मोरङ निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र खत्रीले राजनीतिमा विकृति र विसङ्गति आएको बताउनुभयो ।
जनता पीरमा रहेको र उनीहरूले लोकतन्त्रको सच्चा अनुभव गर्न नपाएको उहाँको भनाइ छ । उहाँले स्थानीयस्तरमा सर्वसाधारणसँगको छलफलमा आवश्यकताको प्राथमिकीकरण गर्ने बताउनुभयो ।
खत्रीले विभिन्न राजनीतिक दल जस्तो वृहत् प्रचार प्रसार गर्न नसके पनि आफू साइकल चढेरै क्षेत्र नं ४ का प्रत्येक जनतासामु पुग्ने बताउनुभयो । मतदातालाई भगवान्को दर्जा दिँदै उम्मेदवार खत्रीले जनताले आफूलाई पत्याउने र आफ्नै पक्षमा मत खसाल्ने बताउनुभयो ।
मोरङ निर्वाचन क्षेत्र नं २(
२) को प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार विष्णुबहादुर थापाले जनताले रूचाए आफूले चुनाव जित्ने बताउनुभयो । उहाँले आफ्नो क्षेत्रको गरिबी उन्मूलनलाई नारा बनाएको भन्दै चुनाव जित्न जनता जनार्दन नै सर्वोपरी भएको बताउनुभयो ।
मोरङ निर्वाचन क्षेत्र नं ५ (२) को प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार नरेशकुमार लाभले निर्वाचनमा अन्तिम निर्णयकर्ता जनता नै भएको बताउनुभयो । उहाँले नेताले पार्टी बदलिए जस्तै जनताले पनि अब सोच बदल्ने र काम गर्न सक्ने कर्मठ उम्मेदवारलाई विजयी बनाउने बताउनुभयो ।
लाभ बलात्कार विरूद्ध कडा कानून ल्याउने, समयमा मलको व्यवस्था गर्ने र सहज उपचारको वाचाका साथ प्रचारमा होमिनुभएको छ । उहाँले जनताभन्दा ठूलो कोही पनि नभएको र उम्मेदवारको भाग्य पनि जनताले नै तय गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
मोरङ निर्वाचन क्षेत्र नं ६ (१) को प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार राम सागर चौधरीले जनताले जसलाई चाह्यो त्यसैलाई सिंहासनमा बसाउने र जसलाई चाहेन उसलाई आफ्नो औकात देखाइदिने बताउनुभयो ।
चौधरीले आफू इमान्दारीपूर्वक चुनाव प्रचारमा लागेको र जित्ने वा नजित्ने भन्ने कुरा जनताकै विचारमा छाडिदिएको स्पष्ट पार्नुभयो ।
विराटनगर महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवं मोरङ निर्वाचन क्षेत्र नं ६ (२) को प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार गोपालप्रसाद रेग्मीले दलको प्रचारभन्दा पनि गरेको कामलाई आधार मान्दै जनताले मत खसाल्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्नो एजेण्डा भएको भन्दै जनताको निर्णय अगाडि कसैको केही नलाग्ने बताउनुभयो ।
निर्वाचनमा कसलाई जिताउने वा नजिताउने भन्ने बारे यकिन गर्ने अन्तिम निर्णयकर्ता जनता जनार्दन नै भएकोले ठूला–साना दलदेखि स्वतन्त्र उम्मेदवारसम्म अधिकांशले आ–आफ्नो क्षेत्रको जनता रिझाउन कुनै कसर बाँकी नराख्ने गरी सक्रियता बढाएका छन् भने केही स्वतन्त्र उम्मेदवारको मोबाइलको स्वीच अझै अफ छ ।






