दोधारा चाँदनी, कात्तिक १५ : रिडर्स क्लब कञ्चनपुरको आयोजनामा दैनिक जीवनमा गीताको महत्त्व विषयक गोष्ठी आयोजना हुने भएको छ ।
यही कात्तिक १९ गते भीमदत्त नगरपालिकाको सभाकक्षमा हुने उक्त गोष्ठीमा विविध शीर्षकमा कार्यपत्र प्रस्तुति गरिने क्लबका अध्यक्ष सुरेन्द्रराज ओझाले जानकारी दिनुभयो । हिन्दू धर्मको महान ग्रन्थ श्रीमद्भागवत गीतालाई दैनिक जीवनका विविध पक्षमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारेमा विविध शीर्षकमा विद्वान्मार्फत कार्यपत्र प्रस्तुत गरिन लागिएको हो ।
कार्यक्रममा आचार्य घनश्याम लेखकले ‘गीताको संक्षिप्त परिचय’, जगदीश ओझाले ‘सांस्कृतिक उन्नयन तथा विकृति निवारणका लागि गीताको सान्दर्भिकता’, आचार्य सुदर्शन जोशीले ‘गीतामा योग’ र योगाचार्य सुरेन्द्र ओझाले ‘व्यावहारिक जीवनमा गीता’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने रिडर्स क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि उपप्राध्यापक हरिप्रसाद खतिवडा र श्यामसुन्दर ढकालले टिप्पणी गर्नुहुनेछ भने कार्यक्रमको विशिष्ट वक्ताको रुपमा डा टेकराज पन्त रहनुभएको छ । रिडर्स क्लब कञ्चनपुरका अध्यक्ष ओझाले गीतालाई एक धार्मिक ग्रन्थका रूपमा मात्रै नबुझेर यसभित्रका विविध पाटाको अध्ययन गरी त्यसअनुसार चल्न सके सबैका लागि गीता महत्वपूर्ण हुने भएकाले यसका व्यावहारिक पक्षको खोजी गर्नका लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीलगायत विद्वान् विदुषीहरुको उपस्थिति रहने उहाँले बताउनुभयो ।






