मोटरेबल पुलसँगै सुइखेत खोलाको दीर्घकालीन व्यवस्थापन गर्न माग

  कार्तिक ११, २०७९

गण्डकी, कात्तिक ११ : पोखरा महानगरपालिका–२५ का बासिन्दाले उम्मेदवारसँग मोटरेबल पुलसँगै सुइखेत खोला दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ को पोखरा–२५ हेमजामा गठबन्धन दलको सम्पर्क कार्यालयको उद्घाटनमा स्थानीयका तर्फबाट सुइखेत खोलामा मोटरेबल पुलसँगै वर्षेनी यसले गर्दै आएको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन माग गरिएको हो ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले यस क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउँदै स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहनुभएका बरालले संविधान एवं लोकतन्त्रको रक्षासँगै समृद्धि र विकासका योजनालाई साकार पार्न गठबन्धन आवश्यक भएको बताउनुभयो ।

निर्वाचन क्षेत्र ३९१० का प्रदेशसभा सदस्यका उम्मेदवार दुर्गादत्त भण्डारीले प्राप्त उपलब्धिलाई संंस्थागत गर्न गठबन्धनको जित आवश्यक भएको बताउँदै राजनीतिक स्थायित्व, विकास निर्माण र रोजगारीको सृर्जनाका लागि आँफूहरूको उम्मेदवारी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठी, कांग्रेसका वडा सभापति एवं निर्वाचन समितिका संयोजक मधुसुधन त्रिपाठी, माओवादी केन्द्र पोखरा–२५ का अध्यक्ष माधव अधिकारी, सचिव विष्णु बाँस्तोला लगायतले पुल, खोला नियन्त्रण लगायतमा ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया