दाहाललाई दज्र्यानी चिह्न

  कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति हुनुभएका बंशीराज दाहाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उहाँलाई सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा आज आयोजित एक समारोहका बीच दाहाललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभएको हो ।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि सङ्गठनमा सेवारत रहँदा पदोन्नति महत्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै थपिएको पदीय दायित्व पूर्ण व्यवसायिक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सुरक्षामा क्रियाशील हुन निर्देशन दिनुभयो ।

साथै उहाँले नेपालको सीमा सुरक्षामा डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्ने नीतिअनुरुप देशको सीमानाको रेखदेख, सीमा अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्नसमेत निर्देशन दिनुभयो । उहाँले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया