बैतडी, असोज ३१ : नेपाली कांग्रेस बैतडीका संस्थापक तथा पुराना नेता महेशशरण भट्टको सोमबार निधन भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोट निवासी भट्टको ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार भट्ट श्वासप्रश्वासका बिरामी हुनुहुन्थ्यो ।
भट्ट केही वर्षयता सक्रिय राजनीतिबाट टाढा रहनुभए पनि सामाजिक क्षेत्रमा पनि निकै परिचित नाम हो । नेपाली कांग्रेस बैतडीको सचिवसमेत रहिसक्नुभएका भट्टले विभिन्न सङ्घसंस्थाको नेतृत्वसमेत गर्नुभएको थियो । भट्ट नेपाल परिवार नियोजन सङ्घ बैतडीको सभापतिसमेत हुनुहुन्थ्यो । श्रीकेदार मावि पिपलकोटको संस्थापक प्रधानाध्यापकका रूपमा काम गर्नुभएका भट्टले समाज परिवर्तनका लागि थुप्रै काम गर्नुभएको थियो ।
विसं २०५० मा नेपाली कांग्रेसका सभापति दुर्गादत्त जोशी रहनुभएका बेला भट्ट पार्टीको सचिव रहनुभएको थियो । कांग्रेस बैतडीको संस्थापक नेताका रूपमा रहनुभएका भट्टको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ ।
भट्टको निधनसँगै बैतडी कांग्रेसले एक कुशल अभिभावक गुमाएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो । भट्टको निधनमा कांग्रेसका नेता, कार्यकर्ताका साथै अन्य व्यक्तिले समेत शोक व्यक्त गरेका छन् ।






