रोकाको उपचारमा चार लाख सहयोग

  असार १६, २०७९

बागलुङ, असार १६ : रुखबाट लडेर गम्भीर घाइते हुनुभएकी ताराखोला गाउँपालिका–२ अर्गलकी कलामति रोकालाई उपचारार्थ रु चार लाख १४ हजार २८९ सहयोग प्रदान गरिएको छ । स्थानीय नवसिर्जना युवा क्लबले आर्थिक सहयोग अभियान चलाएर उठेको सो रकम आज रोकाको परिवारजनलाई हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेका अनुसार २५ वर्षीया रोका अहिले पोखरास्थित हरियोखर्क अस्पतालमा उपचाररत हुनुहुन्छ । “रोकाको मेरुदण्डमा समस्या देखिएको छ, उपचारमा अर्थाभाव भएपछि क्लबले सहयोग अभियान चलाएको हो”, उहाँले भन्नुभयो ।

रु ५० देखि बढीमा रु ३० हजारसम्म सहयोग गर्ने २५० सहयोगदाता अभियानमा जोडिएको क्लबले जनाएको छ । अर्थाभावकै कारण रोकाको उपचारमा समस्या निम्तिएपछि देशविदेशबाट सहयोग प्राप्त भएको थियो । सहयोग रकम प्रदान गर्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्तीले मानवीय सेवाका क्षेत्रमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । क्लबले यसअघि पनि घाइते र बिरामीको उपचारका लागि सहयोग रकम जुटाएको थियो ।

सोही अवसरमा गैरवआवसीय नेपाली सङ्घ क्षेत्रीय समिति कान्साइ जापानद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । अनलाइन आवदेनका आधारमा छनोटमा परेका ताराखोलाका पाँच जना विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति पाउनेमा नेपाल माध्यमिक विद्यालयका सुजन परियार, जनप्रेम माविका बुद्ध गुरुङ, युवा वर्ष आधारभूत विद्यालयका अनिता घर्ती, यमुना भण्डारी र भूमिराज घर्ती रहनुभएको छ ।

तपाईको प्रतिक्रिया