कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

  १ घण्टा अगाडि

काठमाडौँ, ८ असोज : नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ ।

कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि आज सम्झौता भएको हो । सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नीतिन जलानले हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन–३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ । सम्झौता तीन वर्षको लागि भएको हो ।

पल्मबर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो । यसपटक भने साझेदारीको स्वरूप परिवर्तन भए पनि पल्मबरले कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो ।

कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले गत यामदेखि सुरु भएको पल्मबरसँगको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताउनुभयो । “यो केवल प्रायोजन वा व्यावसायिक साझेदारी मात्र होइन, कर्णाली याक्सप्रतिको विश्वास र हाम्रो यात्रामा साथ दिने प्रतिबद्धताको निरन्तरता पनि हो ।

एनपिएलको तेस्रो संस्करणमा पनि पल्मबरको साथले हाम्रो टोलीलाई थप ऊर्जा र उत्साह दिने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो । साथै उहाँले पल्मबरले क्रिकेट विकासका लागि गत यामदेखि नै आफैँ अग्रसर भएर कर्णाली याक्ससँग जोडिनुभएको र निरन्तर सहयोगका लागि धन्यवाद प्रदान गर्नुभयो ।

जय बागीश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका जलानले गत यामदेखि कर्णाली याक्ससँग जोडिएर काम गर्ने अवसर पाएका र त्यो सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा उत्साहित रहेको बताउनुभयो ।

आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलका लागि कर्णाली याक्सले दुई विदेशी खेलाडी मार्क वाट र अक्बर अलीलाई आबद्ध गरिसकेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया