‘कानुनको प्रभावकारी कार्यान्वयनले मात्रै विधिको शासन स्थापित हुन्छ’

  १० घण्टा अगाडि

काठमाडौँ, २६ वैशाख : काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आवश्यक भएका कानुनमात्र निर्माण गर्ने र जारी गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्ने पद्धतिले मात्र विधिको शासन स्थापित हुने बताउनुभएको छ ।

कानुन दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “कानुनी शासनको मर्म प्रत्याभूत गर्न कानुन कार्यान्वयन पक्ष विश्लेषण गर्ने बेला आयो, कार्यान्वयन नहुने कानुन निर्माण गरिनु हुँदैन । यसकारण अब विगतमा जारी भएका कानुनको व्यावहारिक पक्ष र कार्यान्वयनको पक्षबाट समीक्षा गर्नुपर्छ ।”

कार्यक्रममा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले २००७ सालमा प्रजातन्त्र आएपछि शक्ति पृथकीकरणका लागि प्रधान न्यायालय ऐनमा लालमोहर लागेको दिनको स्मरणमा दिवस मनाउन थालिएको जानकारी दिनुभयो ।

“स्वतन्त्र न्यायपालिका र न्याय वितरणका आधुनिक विधिको समुचित प्रयोग गर्न सकेमा नागरिकले तत्काल न्यायको अनुभूति गर्न सक्ने भएकाले यो दिशामा काम गर्नुपर्छ”, अध्यक्ष कुँवरले धारणा राख्नुभयो ।

ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कानुन र न्याय क्षेत्रबाट नागरिकलाई लाभ प्रदान गर्न सबै व्यक्ति, क्षेत्र तथा समुदायको दायित्व हुने बताउनुभयो ।

कामपाले अहिलेसम्म ५२ हजार ७४० जना व्यक्तिलाई न्यायिक सहजकर्तामार्फत सेवा प्रदान गरेको छ । यसमा चालु आर्थिक वर्षको अहिलेसम्ममा छ हजार ८४७ जनाले सेवा लिनुभएको छ । पैसा नभएका कारण अदालती प्रक्रिया र त्यस्ता ठाउँबाट प्रदान हुने न्यायमा पहुँच राख्न नसक्नेका लागि निःशुल्क कानुनी न्यायिक सहायता उपलब्ध गराउँदै आएको छ ।

कामपाको न्यायिक समितिले अहिलेसम्म ८३ वटा सुनुवाइ गरेको छ । सात सय ९८ वटा विवाद लिष्टमा चढेका थिए । छ सय आठवटा विवादमा तीन सय २६ वटा निर्णय भएको छ । नब्बे विवाद मेलमिलापका माध्यमबाट निरूपण भएका छन् ।

तपाईको प्रतिक्रिया