‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’

  ८ घण्टा अगाडि

काठमाडौँ, २५ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय-व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना एवं ललितपुर उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग महासङ्घको सहआयोजनामा आजदेखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को दशौँ संस्करणलाई उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।

मन्त्री भण्डारीले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले रुग्ण उद्योगको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौँ । यो मेलाले यस्ता अवसरको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।”

मन्त्री भण्डारीले निजी क्षेत्रले भनेअनुसार नीतिगत सुधारका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै नेपाली उद्योगी व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले हालै संसद्मा पेस भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवद्र्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रका साथमा रहेको बताउनुुभयो ।

नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्वबजारमा स्थापित गर्न र स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मेलाले सहयोग पु¥याउने बताउनुहुँँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गर्नुभयो ।

सोही अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजार प्रवर्द्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उहाँको भनाय थियो । उहाँले भन्नुभयो, “मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।”

नेपालमा अन्तरराष्ट्रियस्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेलास्थलको अभाव एउटा प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित मेला तथा प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद् विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताउनुभयो ।

नेपाल, चीन र बङ्गलादेशका गरी १२० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासङ्घका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया