इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु

  मंसिर १३, २०८१

जकार्ता, १३ मङ्सिर (रासस/एएफपी) : पश्चिमी इन्डोनेसियामा तीव्र वर्षाका कारण भएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको उद्धार अधिकारीले बिहीबार बताएका छन् ।

राष्ट्रिय विपद् एजेन्सीको तथ्याङ्कअनुसार सप्ताहन्तमा उत्तरी सुमात्रा प्रान्तका चार जिल्लामा बाढी र भूस्खलनले कम्तीमा २० जनाको ज्यान गएको छ ।

भारी वर्षापछि मङ्गलबार उत्तरी सुमात्रा प्रान्तको डेली सर्डाङ जिल्लाको दुर्गम सडकमा पछिल्लो भूस्खलन भएको हो ।

“आजसम्म सेम्बाहे गाउँमा भूस्खलनको घटनाबाट सात जनाको मृत्यु भएको छ”, स्थानीय खोजी र उद्धार एजेन्सीका प्रवक्ता सरिमन सिटोरसले बताउनुभयो । भूस्खलन हुँदा त्यस क्षेत्रबाट गुज्रिएको पर्यटक बसबाट धेरैजना मृतकलाई निकालिएको उहाँले बताउनुभयो ।

खोजी कार्यमा सहयोग गर्न भारी उपकरण तैनाथ गरिएको छ । नजिकैको अस्पतालबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै सरिमनले भूस्खलनमा कम्तीमा १६ जना घाइते भएको जानकारी दिनुभयो ।

इन्डोनेसियामा वर्षाको मौसममा सामान्यतया नोभेम्बर र अप्रिलको बीचमा भूस्खलन हुने सम्भावना हुन्छ तर हालैका वर्षहरूमा प्रतिकूल मौसमका कारण केही प्रकोपहरू त्यस मौसम बाहिर भएका छन् ।

मे महिनामा पश्चिम सुमात्राको माराफी पर्वतको विस्फोटनबाट ढुङ्गा, बालुवा र ढुङ्गाको मिश्रण बगेर आवासीय क्षेत्रमा खसेपछि कम्तीमा ६७ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया