राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि

  जेठ १२, २०८१

काठमाडौँ, १२ जेठ : गणतन्त्र दिवसको सम्मान एवं स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ ।

नेपाली ललितकला क्षेत्रको महोत्सव एवं सबैभन्दा ठूलो कार्यक्रम मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’को तयारी अन्तिम चरणमा पुगेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रदर्शनी संयोजक लालकाजी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष पहिलोपटक सङ्घीयतालाई कार्यान्वयनस्वरुप प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न गरी त्यहाँबाट छनोट भएका कलाकृतिलाई ल्याएर काठमाडौँमा प्रदर्शन गर्ने अभ्यास हुँदैछ ।

“पहिलेपहिले प्रादेशिक रुपमा यसरी कार्यक्रम हुने थिएनन् । केन्द्रमा मात्रै कार्यक्रम हुने गरिएकामा यसवर्ष प्रदेशमा समेत प्रदर्शनी गरी त्यहाँ समावेश भएका कलाकृतिलाई छनोट गरेर केन्द्रमा प्रदर्शन गर्न लागिएको हो”, प्रदर्शनी संयोजक लामाले भन्नुभयो । सहिदका साथै विद्यार्थीको विधासमेत समेटेर पुरस्कार तथा सम्मान थप गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

संयोजक लामाका अनुसार सात प्रदेशबाट छनोट भएर आएका कलाकृतिलाई निर्णायकबाट छनोट गरी प्रदर्शनमा राखिने छन् । यसवर्ष गणतन्त्र दिवसका दिनदेखि सुरु हुने प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।

संयोजक लामाले भन्नुभयो, “पहिले केन्द्रमा प्रदर्शनी गर्दा ६० प्रतिशत कलाहरु वाग्मती प्रदेशका हुन्थे तर यसवर्ष सात प्रदेशबाटै कला समेटिएका छन् । विकट र दुर्गमका कलाकृतिले समेत स्थान पाउनेछ । कर्णालीका यसअघि आठ÷१० वटा कला सहभागी हुनेमा यसपटक ७०÷८० वटासम्म कलाकृति आउन लागेको छन् ।”

प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । लामाका अनुसार सिर्जनात्मक कलामा फोटोग्राफी, कार्टुन, क्यारिकेचर, इन्स्टलेसन, परफर्मेन्सलगायत विधाहरु रहेका छन् । यसभित्र रहेर हरेक प्रदेशमा दुईवटा पुरस्कार राखिएको छ ।

सबै विधालाई समेटेर हरेक प्रदेशमा दुईवटा पुरस्कार दिइनेछ । सबै विधाबाट उत्कृष्टलाई एउटालाई पुरस्कार दिइने संयोजक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै गरेर आठवटा पुरस्कार एउटा प्रदेशले पाउनेछ । यसरी पुरस्कार प्राप्त गर्नका लागि भने हरेक विधामा कम्तीमा पाँचवटा सिर्जना समावेश भएको हुनुपर्ने प्रावधान रहेको लामाले बताउनुभयो । उहाँले प्रदर्शनीले मौलिक परिचय र ज्ञान, त्यमसा आधारित सीप र आयआर्जनलाई बढोत्तरी दिन तथा पहिचान दिनका लागि महत्वपूर्ण मानिएको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लतिकला क्षेत्रको उन्नयन, संरक्षण संवर्द्धन, प्रवर्द्धन र पर्यटक विकासका लागि ललितकला प्रदर्शनी फलदायी हुने बताउनुभयो । उहाँले ललितकलाको पुनर्जागरण गराउने गरी यसपालि काम थालिएको बताउनुभयो ।

‘सामाजिक रुपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना हुने प्रदर्शनीमा देशभरका करिब एक हजार कलाकृति समावेश गर्ने तयारी गरिएको छ । यसका लागि मल समिति र अन्य छवटा उपसमिति गठन गरी तयारी भइरहेका प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले छनोट भएर आउने भएकाले यसपालिको प्रदर्शनी उत्कृष्ट र महत्वपूर्ण हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया