पेट तथा आन्द्रा रोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

  फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका करिब एक सय २५ चिकित्सक सहभागी हुनुहुन्छ । 

सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सङ्घ नेपालका अध्यक्ष एवम् सम्मेलन आयोजक समितिका संयोजक प्रा.डा.मुकुन्दराज जोशीले सम्मेलनमा पेट तथा आन्द्रासम्बन्धी रोगका विषयमा प्राप्त नवीन ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । 

उहाँले वंशाणुगतसहित खानपान र वातावरण परिवर्तनका कारण पेटसम्बन्धी रोगको समस्या देखिने गरेको जानकारी दिँदै खानामा लापरवाही र सन्तुलित आहारका कारण अन्य रोगका तुलनामा पेटसम्बन्धी रोगबाट अत्यधिक मानिस प्रभावित हुने गरेको जानकारी दिनुभयो ।

सम्मेलनमा पेट तथा आन्द्रा रोगको पहिचानसम्बन्धी विशिष्टीकृत उपकरण र प्रविधि, शल्यक्रिया विधि, उपचार पद्धतिलगायतका विषयमा विस्तृत छलफल हुने प्रा.डा.महेश खकुरेलले बताउनुभयो । विदेशकासमेत गरी करिब एक सय चिकित्सकले एकल एवम् संयुक्तरुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन भोलिसम्म चल्नेछ । (रासस)

तपाईको प्रतिक्रिया