कालिका भगवती मन्दिरमा भक्तजनको भिड

  कार्तिक ०४, २०८०

म्याग्दी, कात्तिक ४ गते । दसैंको सातौँ दिन प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भिड लागेको छ । फुलपातीका दिन भएकाले कालिका मन्दिर दर्शनका लागि विहानैदेखि भक्तजनको ठूलो भिड लागेको हो । 

भगवतीको दर्शनका लागि टाढा–टाढाबाट दर्शनार्थीहरु आउनेगरेका छन् । देशका विभिन्न स्थानबाट आएका भक्तजनहरु विहानैदेखि दर्शनका लागि लामबद्ध भएका छन् । नवदुर्गाको आज सप्तमीका दिन सवैभन्दा धेरै भक्तजनहरु आएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

भक्तजनलाई पूजा र दर्शनमा सहज बनाउन व्यवस्थापन समितिले सुरक्षाकर्मी र स्वयमसेवक परिचालन गरेको छ । भजनकृतन र नाचगानले मन्दिर परिसर गुञ्जिएको छ । दर्शनपछि युवायुवती, बृद्धवृद्धाहरु मन्दिरलाई पृष्ठभूमिमा पारेर फोटो खिच्ने गरेका छन् ।  

मन्दिर परिसर सरसफाइ गरेर चिटिक्क पारिएको छ । यहाँका पुराना सत्तल भत्काएर नयाँ बनाइएको छ भने सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ । बागलुङ–पोखरा सडकको छेउमा रहेको मन्दिरको प्रवेशद्वारदेखि भक्तजन पैदल हिडेर मन्दिरसम्म पुग्नुपर्छ । ठूलो घना जंगलभित्र कालिका मन्दिर रहेको छ । 

कालिमा मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा परिचित छ । घटस्थापनादेखि सुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमासम्म चल्ने व्यवस्थापन समितिले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया