राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक इन्द्रजात्रा अवलोकन

  असोज ११, २०८०

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई इन्द्रजात्रा अवलोकन गर्नुभएको छ ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल हिडेर दरवारक्षेत्र पुग्नुभएको थियो । यसअघिका राष्ट्रपति र राजाले गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो ।

जात्रा अवलोकन गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, सांसदहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि पनि जात्राको अवलोकन गर्नुभयो । 

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । 

भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबारक्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ । शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिनेछ । 

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइनेछ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभइ कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत छ ।

तपाईको प्रतिक्रिया