राससमा आँखा शिविर

  भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : राष्ट्रिय समाचार समिति मा कार्यरत पत्रकार तथा कर्मचारी र उनीहरुका परिवारका लागि आज यहाँ निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आयोजना र एएसजी आई अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

डा इसा प्रसाइँ नेतृत्वको टोलीले आँखा परीक्षण गरेको हो । एक दिने शिविरमा एक सय २० भन्दाबढीले आँखा परीक्षण गराउनुभएको आयोजकको भनाइ छ । शिविरमा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, राससका नायबमहाप्रबन्धक, विभागीय प्रमुखका साथै पत्रकार र कर्मचारीहरुले आँखा परीक्षण गराउनुभयो ।

आँखा परीक्षण गर्दै राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससकर्मीलाई आँखाजस्तो संवेदनशील अङ्गको परीक्षण गराएर स्वास्थ्यप्रति गम्भीरता देखाउने रचनात्मककार्य प्रसंशनीय रहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने खाँचो औंँल्याउनुभयो ।

“आँखा सबैका लागि महत्वपूर्ण हुन्छ, नियमित कम्प्युटर र मोबाइलको स्क्रिन अगाडि काम गरिरहने पत्रकारका लागि आँखाको नियमित परीक्षण अझ बढी जरुरी छ”, उहाँले भन्नुभयो । आँखाको सम्बन्ध शरीरका अन्य अङ्गसँग पनि हुने भएकाले आँखा नियमित रुपमा परीक्षण गराउन सुझाव दिँदै कार्यकारी अध्यक्ष झाले रासस आँखा शिविर सञ्चालन गरेकोमा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

महाप्रबन्धक सिद्धराज राईले राससकर्मीका लागि यस किसिमको कार्यक्रम नियमित रुपमा गरिनुपर्नेमा जोड दिनुभयो । पत्रकार र कर्मचारी शिविरबाट लाभान्वित भएको उहाँको भनाइ छ । राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले सामाजिक उत्तरदायित्व अन्तर्गत महासङ्घ रासस प्रतिष्ठान शाखाले आँखा शिविर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई रासस व्यवस्थापनले सहयोग गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँले महासङ्घ पत्रकारको हकहित र स्वास्थ्यका बारेमा अत्यन्तै संवेदनशील रहेको बताउनुभयो । उहाँले सञ्चारकर्मीको हितका लागि शिविर आयोजना गरिएको बताउनुभयो ।

रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछाने र राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले यस्ता रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले समाचार लेखिरहने पत्रकारले स्वास्थ्यमा कम चासो दिने गरेको उल्लेख गर्दै विशेषगरी आँखा शिविर सञ्चालन गरेर महासङ्घ रासस प्रतिष्ठान शाखाले सराहनीय कार्य गरेको उल्लेख गर्नुभयो ।

एएसजी आइ केयर अस्पतालका प्रबन्धक सञ्जीवकुमार ठाकुरले विभिन्न संस्थामा गएर आफूहरुले निःशुल्का शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । अस्पतालले हालसम्म काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा पाँच सयभन्दा बढी शिविर सञ्चालन गरिसकेको उहाँको भनाइ छ । शिविरमा सहभागीलाई सर्जरी र अप्टिकलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अप्टोमेट्रिस डा इशा प्रसाइँका अनुसार आँखा शिविरमा तीन जनामा मोतियाविन्दु भेटिएको छ । धेरै जनामा नजिकको देख्न गाह्रो भएको, चस्मा पनि समय समयमा परिवर्तन नगरेको पाइएको भन्दै उहाँले प्रत्येक छ महिनामा आँखा परीक्षण गर्न सुझाव दिनुभयो । (रासस)

तपाईको प्रतिक्रिया