आकर्षक गुँड बनाउँदै तोप चरा

  साउन ०१, २०८०

काठमाडौं, १ साउन : अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमा मात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ ।

सुनौलो तोप चरा शुक्लाफाँटामा रहेको बारेमा सबैभन्दा पहिले चराविज्ञ डा. हेमसागर बरालले पत्ता लगाउनुभएको थियो । सन् १९९६ मा आफ्नो विद्यावारिधिका लागि अनुसन्धान गर्न शुक्लाफाँटा पुग्नुभएका उहाँले सुरुमा ११ वटा सुनौलो तोप चरा देख्नुभएको थियो । त्यसपछि, सन् २००८ मा बरालले नै सुनौलो तोप चराले सिकारी तालको आसपासमा गुँड लगाउने गरेको तथ्य पत्ता लागेको थियो ।

सुनौलो तोप चराको सङ्ख्या नेपाल, भारत दुवै देशमा निकै कम रहेको पक्षी संरक्षण सङ्घ नेपाल (बीसीएन) ले जनाएको छ । नेपालमा करिब १०० को हाराहारीमा सुनौलो तोप चरा रहेको अनुमान छ ।

नेपालमा छातीकाले, धर्के, बया र सुनौलो गरी चार प्रजातिका तोप चरा पाइने गरेको छ । जसमध्ये सुनौलो तोप चरा तराई क्षेत्रमामात्रै पाइने गरेको गरेको छ ।

प्रकृतिमाथि मानवीय हस्तक्षेप बढ्दै जानुले यो चराको अस्तित्व खतरामा परेको छ । प्राकृतिक बासस्थानको विनाश, कृषिमा विषादीको बढ्दो प्रयोग जस्ता कार्य सुनौलो तोप चरा विनाशको प्रमुख कारण रहेको चराविदहरूको भनाइ रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया